ललितपुर, २५ माघ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे दोहोरो नीति लिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू त अप्ठेरोमा परेका छन् भने त्यही कारणले पार्टीमा थप अन्यौलता सिर्जना भएको छ।
प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन भन्ने र अर्कातिर पारित गर्ने प्रतिवद्धतासहित एमसिसीलाई पत्र पठाउँदा पार्टीलाई समेत अप्ठेरो पर्ने अवस्था आएको माओवादी केन्द्रका एक नेताले बताए।
’उहाँले कसरी यस्तो गर्नुभयो भनेर हामी अचम्मित भएका छौं। उहाँले आफ्नो अस्थिर चरित्र यहाँ पनि देखाउनुभयो,’ ती नेताले भने,’अब यसबारे पार्टीमा पक्कै प्रश्न उठ्छ होला। माघ २७ गते हाम्रो केन्द्रीय कमिटीको बैठक छ। त्यसपछि मात्रै एमसिसीबारे हामीले थप स्पष्ट पार्छौं।’
माघ २६ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ। माओवादीकै अनुरोधमा १६ गते डाकिएको बैठक १० दिनलाई सारिएको हो।
माओवादी केन्द्रले फेरि बैठक सार्न प्रयास गरिरहेको छ। माघ २७ को पार्टी बैठकका लागि प्रतिनिधि सभा बैठक सार्ने पक्षमा आफूहरू रहेको ती नेताले बताए।
केन्द्रीय कमिटीको बैठकपछि पार्टीको धारणा अझै स्पष्ट पारेर अघि बढ्न सकिने ती नेताको तर्क छ।
एक महिनाअघि सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले परिमार्जन नगरीकन एमसिसी पारित गर्न नहुने निर्णय गरेको थियो। प्रचण्ड स्वयंले पनि परिमार्जन नगरी पारित गर्न नहुने अभिव्यक्ति दिँदै आएका छन्। एमसिसी परिमार्जन नभएको अवस्थामा फिर्ता जान सक्ने माओवादीका अर्का एक नेताले बताए।