ललितपुर, २८ पुस । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारतीय सरकारले नेपाली भूमि लिपुलेकमा गरिरहेको सडक विस्तारप्रति विरोध जनाएको छ ।
एमाले परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने गतिविधि बन्द हुनुपर्ने बताएका छन्।
‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ।’
राष्ट्रियतासँग सम्बन्धित यस्ता गम्भीर विषयमा सरकार मौन रहेको हुँदा अनेकौं प्रश्नसमेत जन्माएको भट्टराईले बताएका छन्।
यस विषयमा भारत सरकारसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू–भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न पनि एमालेले माग गरेको छ।
सोमबार मात्रै नेकपा (एकीकृत समाजवादी)ले विज्ञप्ति जारी गर्दै अतिक्रमणमा परेको लिपुलेकमा भारतले सडक विस्तार गरिरहेको भन्दै आपत्ति जनाएको थियो।