ललितपुर, १३ पुस । नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक एभीसी एशियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।
मङ्गलवार बाङ्ग्लादेशको मिरपुरमा भएको निकै नै प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ ले पराजित गर्दै महिला टोलीले उपाधि रक्षा गरेको हो ।
यसअघि सन् २०१९ मा भएको प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो । त्यो नेपाली भलिबलको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो ।
त्यसलगत्तै टोलीले काठमाण्डूमा भएको १३ औँ दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो ।
लिग खेलमा नेपालले उज्बेकिस्तानलाई सोझो सेटमा पराजित गरेको भए पनि फाइनला प्रतिस्पर्धात्मक थियो । अधिकांश समय अङ्कमा अग्रता लिएको उज्बेकिस्तानले पहिलो सेट २६–२४ ले हारे पनि दोस्रो सेट उस्तै गरी जितेको थियो ।
तेस्रो सेटमा नेपाल हावी भयो र २५–१५ को सहज विजय हात पा¥यो। चौथो सेट उज्बेकिस्तानले पुनरागमन गर्दै २५–२२ ले जितेर खेललाई अन्तिम सेटमा पु¥यायो । निर्णायक सेट नेपालले १५–१० ले जित्दै उपाधि रक्षा गरेको थियो।
एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप भलिबलको अन्तर्राष्ट्रिय वरीयताक्रम अनुसार दोस्रो तहको प्रतिस्पर्धा हो। महिला भलिबलमा नेपाल वरीयताको ८७औँ स्थानमा छ।
नेपाली महिला टोलीले सन् २०१९ मा दक्षिण एशियाली खेलकूदमा रजत पदक पनि जितेको थियो
दुई वर्ष अगाडि नेपालले उपाधि जित्दाका छ जना खेलाडी मात्र अहिले टोलीमा छन् ।
कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सुनिता खड्का र सफिया पुन सन् २०१९ को टोलीका सदस्य हुन् ।
उषा भण्डारी, कृपा अधिकारी र मनीषा चौधरी सो प्रतियोगिता नखेलेका राष्ट्रिय खेलाडी हुन् भने कामना विष्ट, लक्ष्मी चन्द र शान्ति थारु नयाँ अनुहारहरू हुन्।