ललितपुर, ११ पुस । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि अधिवेशनको समयसमेत बढाउने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि ११ देखि १३ सम्म हुने कार्यक्रम २ दिन थप गर्ने निर्णय भएको बताएको छ ।
महाधिवेशन हुने भए पछि विचारहरूको बहस अलिक धेरै गर्नुपर्ने भएकाले समय थपिएको हो । यसअघि आजको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ।
देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भन्ने निष्कर्षमा पुगेको अध्यक्ष प्रचण्डले बताएका छन् ।
यसअघि शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । २०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले अन्य दललाईसमेत निम्तो गरेको छ । महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।