ललितपुर, ५ पुस । कुशल प्रशासक एवं राष्ट्रसेवक व्यक्तित्व ठाकुर प्रसाद कोइरालाको ‘सङ्घर्षमय जीवन सरल यात्रा’ नामक आत्मकथा सार्वजनिक भएको छ ।
शनिबार कोइराला दम्पतीको चौरासी पूजाको विशेष अवसर पारेर उक्त कृति मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीबाट विमोचन गरिएको छ । उक्त कृतिमा कोइरालाको आफ्नो जीवन भोगाई एवं विभिन्न निकायहरुमा रहँदा निर्वाह गर्नुभएका भूमिकाको अलावा परिवार, शिक्षा, दर्शन, राष्ट्रियता लगायत सम्बन्धमा आफ्नै परिभाषाहरु समेटिएका छन् ।
ठाकुर प्रसाद कोइराला नेपाल सरकार अन्तरगत विभिन्न महत्वपूर्ण जिम्मेवारीहरुमा ३२ बर्ष सेवारत रही नेपाल सरकार अन्तरगत सहसचिव पदबाट अवकाश लिनुभएका व्यक्ति हुनुहुन्छ । ठाकुर प्रसाद कोइरालाका दाई हरि प्रसाद कोइराला, २ छोराहरु डा. धु्रव कोइराला र ई. अर्जुन कोइराला हुनुहुन्छ । आफ्ना बुबाको सरल स्वभाव, संस्कारमय जीवन, निडरता एवं धैर्यताबाट आफूहरु पनि उत्प्रेरित भएको र अहिलेको अवस्थामा पुग्न सकेको भन्दै दुवै छोराहरु आफ्ना मातापिता प्रति हार्दिक कृतज्ञता प्रकट गर्नुहुन्छ ।
समृद्धि सहितको सुखद परिणामको लागि जुनसुकै राजनीतिक व्यवस्था भएपनि नेतृत्वमा रहने पात्र सही हुनुपर्ने कुरामा लेखक ठाकुर प्रसाद कोइराला विशेष जोड दिनुहुन्छ । जुन कुरा उहाँले यस कृतिमा समेत उल्लेख गर्नुभएको छ । श्रीमतीलाई शिरको मति, मातापिता सबैभन्दा ठूला सम्पत्ति, सुखानुभुति भनेको आत्मसम्मान सहितको जीवनको अनुभुति र शिक्षा भनेको निरन्तर सिकाई प्रक्रिया जस्ता आफूलाई सधैं मार्गनिर्देशनको लागि ऊर्जाशिल बनाउने पृथक परिभाषाहरु कोइरालाले आफ्नो कृतिमा समेट्नुभएको छ ।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खिलराज रेग्मीले कर्मशिलतालाई नै सफलताको आधार बनाउने ठाकुर प्रसाद कोइरालाबाट आफूले पाएको प्रेरणालाई आपूmले पनि जीवनको मार्गदर्शन बनाएको बताउनुभयो । साथै उक्त पुस्तकको सार बुझेर सोहीबमोजिम अघी बढ्ने दृढसङ्कल्प लिनसके आगामी पुस्ता र मुलुक निकै सभ्य र समृद्ध बन्न सक्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।
एक व्यक्तिका अनेक प्रतिभाहरु समेटिएको उक्त पुस्तक साँच्ची नै युवा पुस्ताको लागि समेत प्रेरणादायी र मार्गदर्शक बन्न सक्ने रेग्मीको विश्वास छ । मानिस सामाजिक चेतना सहित जिउँदो रहन हरेक व्यक्ति आफ्नै सङ्घर्षबाट माथि उठ्नुपर्ने र अरुको डर, लाजबाट नभई आफ्नै अन्तरदृष्टिकोणले उपयुक्त ठहर्याएको बाटोमा निडरतापूर्वक अघी बढ्नुपर्नेमा समेत रेग्मीले जोड दिनुभएको छ ।
पूर्वसचिव एवं पूर्व राजदूत दुर्गा प्रसाद भट्टराईले पुस्तकको परिदृष्य प्रस्तुत गर्दै आफू आफ्ना वास्तविक मातापिताबाट सानैमा टाढिएको र बुबाआमाको वास्तविक माया र प्रेरणा ठाकुर बुबाबाट नै प्राप्त गरेको बताउनुभयो । ठाकुर बुबाकै जीवनदर्शनबाट निरन्तर प्रेरणा ग्रहण गर्दै अहिलेको अवस्थामा आइपुग्न मार्गनिर्देशित गर्ने ठाकुर बुबाप्रति उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । भट्टराईले कोइराला बुबालाई आफूले अजस्र ऊर्जाका स्रोतको रुपमा पाएको र उहाँको निकटतामा रहने एवं पुस्तक अध्ययन गर्ने हरेक व्यक्तिले उक्त ऊर्जाको अनुभुति गर्न सक्ने समेत भट्टराईले बताउनुभयो ।
जेठा छोरा डा.धु्रव कोइरालाले हरेक समस्यामा सम्भावनाको खोजी गर्ने शिक्षा आफूले बुबाबाट प्राप्त गर्न सकेको बताउनुभयो भने कान्छा छोरा ई.अर्जुन कोइरालाले बुबालाई कहिल्यै नहार्ने र कठिन समस्यामा पनि वैकल्पिक समाधान निकाल्न सक्ने व्यक्तित्वको रुपमा आफूले पाएको र आफू पनि सोहीबमोजिम नै निर्देशित हुँदै आएको बताउनुभयो । यसैगरी छोरी सरिता कोइराला (बास्कोटा)ले आफ्नो जीवनको रोलमोडल आफ्नै बुबा रहनुभएको र उहाँलाई अनन्त ज्ञानका स्रोतको रुपमा समेत आफूले पाएको बताउनुभयो ।
विमोचित कृतिमा कुशल प्रशासक एवं सभ्य समाजको परिकल्पना गर्ने व्यक्तिहरुमा हुनुपर्ने गुणहरुको बारेमा बारेमा कोइरालाले आफ्नो ज्ञान, अनुभव र दृष्टिकोण प्रकट गर्नुभएको छ ।
शनिबार सम्पन्न पुस्तक विमोचन कार्यक्रमको सञ्चालन छोरा ई.अर्जुन कोइरालाले गर्नुभएको थियो भने स्वागत मञ्तव्य छोरी सरिता कोइराला (बास्कोटा)ले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता छोरा डा.ध्रुव कोइरालाले गर्नुभएको थियो ।