ललितपुर, १७ असार । नेपालमा विगत २४ घण्टामा थप ४८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,०४६ पुगेको छ।
तीमध्ये ४,६५६ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
विगत २४ घण्टामा ४६२ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अछाम जिल्लामा असार १४ गते मृत्यु भएका एक पुरुषमा मरणोपरान्त कोभिड–१९ पुष्टि भएको जानकारी उनले दिए। अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड(१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ। गत साता असार १७ सङ्क्रमितको कुल सङ्ख्या १०,००० नाघेको थियो। मङ्गलवार नेपालमा थप ३१६ जना कोरोनाभाइरस सङ्क्रमित भेटिएको पुष्टि भएको थियो।
अहिले सबै ७७ वटा जिल्लामा कोभिड–१९ पुगिसकेको छ। विभिन्न जिल्लामा ४८,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।