ललितपुर, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट सुरू भएको छ । शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
कांग्रेसले करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधिलाई काठमाडौंमा बिहीबार साँझदेखि मंसिर २७ गतेसम्म बसोबास र खानाको व्यवस्था गरेको छ । बिहान र बेलुकी महाधिवेशन स्थलमै खाना खुवाउने व्यवस्था छ ।
महाधिवेशन प्रतिनिधिलाई राख्न ठमेल, सुन्धारा र गौशालामा गरी करिब सयवटा होटल बुकिङ गरिएका छन् । खाना र बसोबासका लागि मात्रै कांग्रेसले साढे ३ करोड रूपैयाँ खर्च लाग्ने बताएको छ ।
महाधिवेशन अवधिभर सात करोड रूपैयाँ खर्च लाग्ने कांग्रेस केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिले अनुमान गरेको छ । त्यसैनुसार पैसा जुटाउने कामसमेत भएको छ ।
कांग्रेसले महाधिवेशनका लागि चन्दा नउठाउने भएको छ । सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा आर्थिक समिति बनेको छ । समितिमा रहेका सदस्यहरूबाटै सुरूमा आर्थिक सहयोग लिइएको छ ।
राज्यमन्त्रीसमेत रहेका नेता उमेश श्रेष्ठले २५ लाख, सांसद विनोद चौधरीले २५ लाख र नेता जीपछिरिङ लामाले २५ लाख रूपैयाँ महाधिवेशन गर्न खर्च दिएको बताइएको छ ।
महाधिवेशन एक दिन थपियो भने पनि खाना र बसोबासकै लागि ८० लाख थप खर्च लाग्ने अनुमान छ । आर्थिक समितिकै संयोजक रहेका मन्त्री कार्कीले पनि पैसा उपलब्ध गराएका छन्। ‘मन्त्रीज्यूले मसँग त पैसा छैन भन्नुभयो, उहाँले १० लाखभन्दा त सक्दिनँ भन्नुभएको छ,’ ती नेताले भने, ‘हामीले कांग्रेसकै नेताहरूबाट महाधिवेशन खर्चको व्यवस्थापन ग¥यौं। बाहिरकालाई दुःख दिएनौं।’
महाधिवेशनका लागि उठाइएको यो पैसा राख्न बेग्लै खाता सञ्चालन गरिएको छ। मन्त्री कार्की, मोहन आचार्य र दीपक खड्का लगायतको हस्ताक्षर चल्ने गरी खाता खोलिएको ती नेताले बताए ।