ललितपुर, २० मंसिर । लामो समय राप्रपा शक्ति संरचनाको माथिल्लो तहमा रहेका नेता कमल थापालाई १ सय ९९ मतान्तरले हराएर झापाका राजेन्द्र लिङ्देन नयाँ अध्यक्ष बनेका छन । लिङ्देन दुई वर्षदेखि अध्यक्ष बन्ने योजना बनाएर नेतृत्व र कार्यकर्ताबीच खटिएका थिए ।
२०६४ मा राप्रपाको केन्द्रीय सदस्य बनेका उनले २०७० को महाधिवेशनबाट महामन्त्रीमा फड्को मारेका थिए । राष्ट्रिय राजनीतिको मूलधारमा दक्षिणपन्थको किल्लाका रूपमा रहेको पार्टीको कमान्डर बनेका लिङ्देन अन्य पार्टीका अध्यक्षको तुलनामा कम उमेरका छन ।
पञ्चायतदेखि गणतन्त्रसम्मै काण्डैकाण्ड झेलेका जनजाति समुदायका ५६ वर्षीय लिङ्देनको उदय रोचक छ । पञ्चायतकालमा राप्रपानिकट विद्यार्थी संगठनको अध्यक्ष बनेपछि लिङ्देन जिल्लामा चिनिन थालेका थिए । तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटक (२०४९ र २०५४) वडाध्यक्ष निर्वाचित उनी शाहीकालमा (२०६० मा) जिल्ला विकास समितिको सभापति मनोनीत भएका थिए । लिङ्देनसँगै जोडिएको ०३८÷३९ सालतिरको ‘देउसी काण्ड’ बारे अहिले पनि गोलधाप भेगमा चर्चा हुन्छ । उक्त घटनामा स्थानीय प्रजापति सापकोटा मारिएका थिए, जसमा संलग्न भएको आरोप नेता लिङ्देनलाई लाग्यो ।
सापकोटा मारिएकै समयमा लिङ्देनले पहिलोपटक भेटेका थिए, नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई । सिटौला झापामा वकालत गर्थे । लिङ्देनलाई निर्दोष साबित गर्न सिटौलाले वकिलको रूपमा भूमिका खेलेका थिए । ०४६ सालपछि भने राजनीतिक पक्षधरताका कारण सिटौला र लिङ्देनबीच टकराव बढ्यो । सधैं जित्ने क्षेत्रमा गत निर्वाचनमा भने लिङ्देनले सिटौलालाई हराएका थिए ।
राजेन्द्र लिङ्देनको नामसँग जोडिएर झापामा अर्को काण्डको पनि स्मरण गरिन्छ । विद्यार्थी राम थापा हत्याकाण्डमा तिनताक राष्ट्रवादी विद्यार्थी मण्डलका नेताका रूपमा लिङ्देनले योजनाकारको भूमिका खेलेको आरोप लागेको थियो । यो काण्डमा भने सिटौलाले आफूलाई फसाउन विशेष भूमिका खेलेको लिङ्देनको दाबी छ ।
२०४६ चैत १३ मा पञ्चायतसमर्थित राष्ट्रवादी विद्यार्थी मण्डल र पञ्चायतविरोधी आन्दोलनमा लागेका दलका विद्यार्थीबीच भद्रपुरको मेची क्याम्पसमा दोहोरो झडप भएको थियो । पञ्चायतको पुतलादहन गर्ने विद्यार्थीलाई मण्डलका विद्यार्थीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा कुनै अज्ञात व्यक्तिको छुरा प्रहारबाट विद्यार्थी राम थापा मारिएका थिए ।
लिङ्देनको नाम मुछिने उक्त काण्डबारे केही समयपहिले प्रश्न गर्दा उनले भनेका थिए, ‘त्यो घटना हुँदा म क्याम्पसमै थिइनँ, राम थापा हत्यामा मेरो संलग्नता कसैले पुष्टि गर्छ भने म त्यसको आजीवन नोकर बस्न तयार छु ।’ उनी उक्त काण्डपछि करिब पाँच महिना जेल परेका थिए ।
मुलुकमा राजनीतिक परिवर्तन भएपछि लिङ्देन गणतन्त्रवादी दलहरूको ‘तारो’ बने । २०६२÷०६३ पछि उनीमाथि दुर्व्यवहार र भौतिक आक्रमण नै भयो । ०६४ मा पूर्वमन्त्री रवीन्द्रनाथ शर्मा बिर्तामोड आएका बेला माओवादीले कालोमोसो दल्ने प्रयास गरे तर सकेनन् । बदलामा लिङ्देनमाथि मरणासन्न हुनेगरी कुटपिट भएको थियो । ‘हिप्नोटाइज गरिएका मान्छेको जत्थाले आक्रमण गरेका थिए’ । लिङ्देनले त्यस घटनाको स्मरण गर्दै भने, ‘त्यो घटनालाई मैले भयानक सपनाको रूपमा बिर्सिने प्रयत्न गरिरहेको छु ।’
संयोग नै भन्नुपर्छ यो घटनामा पनि प्रत्यक्ष रूपमा सिटौला जोडिन्छन । त्यसबेला उनी गृहमन्त्री थिए । घटनापछि उनकै आदेशमा प्रहरी नपठाएको आरोप लिङ्देनले लगाउँदै आएका छन । सिटौला–लिङ्देन चुनावी टकराव धेरैपटक चल्यो । २०७० को संविधानसभा निर्वाचनमा लिङ्देन पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राजावादी नेताको छवि बनाएका लिङ्देनले गणतन्त्रवादी नेता सिटौलालाई कांग्रेसकै ‘गढ’ मानिने झापा– ३ मा ठूलो मतान्तरले पराजित गरे । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाउँदा सिटौलाले ३१ हजार १ सय ५९ मत मात्रै पाएका थिए । यस मतान्तरको कारण एमाले नेता ओली र लिङ्देनबीचको चुनावी सहकार्य पनि थियो ।
सिटौला र लिङ्देनबीच पहिलो चुनावी भिडन्त २०५६ को आमनिर्वाचनमा भएको थियो । दुईपटक पराजय बेहोरेका लिङ्देन सिटौलाको ह्याट्रिक यात्रामा पूर्णविराम लगाउँदै राप्रपाका एक्ला प्रतिनिधिसभा सदस्य बनेका थिए । पार्टीका तत्कालीन अध्यक्ष कमल थापासमेतलाई कम्युनिस्ट गठबन्धनको भेलले बगाउँदा लिङ्देनचाहिँ एमालेको समर्थनमा सांसद बनेका थिए ।
पहिले केपी ओलीको साथले सांसद जितेका लिङ्देनलाई यसपटक पार्टीको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले अतिरिक्त सहयोग गरेर जिताएको पराजित नेता कमल थापाको आरोप छ । ‘जित स्वाभाविक थियो,’ अध्यक्ष जितेपछि लिङ्देनले हाँकका साथ भने, ‘जनताले नेतृत्व परिवर्तन चाहिरहेका थिए । त्यो परिवर्तनको भेलले मलाई रोज्यो ।’ कान्तिपुरबाट साभार