ललितपुर, १५ असार । असार पन्ध्र, अर्थात दही–चिउरा खाने दिन । असार पन्ध्रमा सबैले दही चिउराको व्यवस्था गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । त्यही अनुरुप घर–घरमा दही चिउरा खाइन्छ ।
सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?
मानो खाएर मुरी उब्जाउने समय
हाम्रो मुलुक कृषि प्रधान देश भएकोले कृषिमा आधारित छ । धेरैजसो नेपालीहरुको जीवन खेतीकिसानी अर्थात खेतबारीमै बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् । अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन हो । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्नवाली लगाउनका लागि यो नै अनुकुल मानिन्छ ।
खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाँद तयार गर्छन्, अन्नबाली लगाउँछन् । बिहानदेखि साँझसम्म उनीहरु काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।
कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय लाग्दैन । त्यसैले काममो हतारोबीच दही चिउरा उपयुक्त हुन्छ, नास्ताको लागि । दही चिउरा मिठो पनि हुन्छ । सर्बप्रिय परिकार हो यो ।
वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।