बुटवल, १२ असार । प्रदेश नं. ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् ।
नयाँ संक्रमित थपिनेमा दाङमा ५४ जना, पाल्पामा २१ जना, गुल्मीमा १२ जना, रुपन्देहीमा ९ जना, प्युठानमा ७ जना, बर्दियामा ६ जना, नवलपरासी पश्चिममा ६ जना, बाँकेमा ४ जना र कपिलवस्तुमा १ जना थपिएका हुन् ।
यसअघि बिहीबारै पाल्पाका १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लागत रुपमा कोरोना संक्रमितको संख्या कपिलबस्तुमा ७०८, पाल्पामा ३९३, दाङमा ३८२, बाँकेमा ३५४, रुपन्देहीमा २७५, गुल्मीमा २५९, अर्घाखाँचीमा २५४, प्युठानमा १९१, बर्दियामा १६१, नवलपरासीमा ८४, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ पुगेको छ ।
प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार प्रदेश ५ मा ६ हजार ७ सय ६२ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।
प्रदेशका कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा ४ जना आईसीयूमा सहित १५ सय ६ जना उपचाररत छन् । प्रदेश ५ मा १४ सय ५१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । प्रदेश ५ मा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका १२ वटै जिल्लाका क्वारेन्टिनमा २६ हजारभन्दा बढी बसेका छन् ।