एजेन्सी, ११ कात्तिक । जापानमा एउटा ’स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ । त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ ।
निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ’एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो ।
इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता हुन् । एकचोटि चार्ज गरेपछि यो होभरबाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलजीजले जनाएको छ ।
आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य छ । प्रत्येक होभरबाइकमा एउटा परम्परागत इन्जिन र ब्यटरीजडित चारवटा मोटरहरू छन् ।
“अहिलेसम्म जमिनमा र आकाशमा यात्रा गर्न सिमित विकल्प मात्र थियो,“ एएलआई टेक्नोलजीजका प्रमुख कार्यकारी दाइसुके कातानोले भने । टोक्योमा एक करोड ३५ लाख मानिस बस्छन्। त्यहाँ भिडभाड एउटा ठूलो समस्याका रूपमा देखा परेको छ ।
उच्चस्तरीय प्रविधियुक्त जापानी राजधानीलाई विश्वकै सर्वाधिक जनघनत्व भएको महानगरीय क्षेत्र मानिन्छ । तर जापानको विद्यमान कानुनले देशका व्यस्त सडकमाथिबाट उड्न अनुमति दिँदैन ।
यद्यपि कातानोले अहिलेका लागि उद्धारकार्यमा खटिने टोलीहरूले दुर्गम स्थानमा पुग्न ती उड्ने बाइक प्रयोग गर्न सक्ने अपेक्षा गरेका छन् ।
कुनै बेला भविष्यमा धेरै पछि मात्र बन्न सक्ने ठानिएका वाहनहरूको अहिले नै निर्माण सम्भव भएको देखिन थालेको पिन्सेन्ट म्यासन्सका बेन गार्ड्नरले बीबीसी न्यूजलाई बताए । होभरबाइक यूकेमा पनि प्रयोग गर्न सकिन्छ कि भनेर विचार गर्नुपर्ने उनको बुझाइ छ।
यूकेको विद्यमान कानुनअन्तर्गत होभरबाइकलाई सडकमा जान योग्य मानिँदैन । तर केही वर्षयता विकसित नयाँ प्रविधिहरूबारे विचार गर्दा परिवर्तन आवश्यक भएको सङ्केत देखिने उनको भनाइ छ।
“चालकविहीन कार, स्वचालित रोबट र ड्रोनजस्ता प्रविधिका वर्तमान परीक्षणहरूले विज्ञानकथाको संसारबाट वास्तविक संसारमा जान नयाँ प्रकारको परिवहनको एउटा खाका तयार छ भन्ने देखाउँछन्,“ उनले भने।
उद्यमी तथा पुँजीपतिहरू, उड्ड्यन क्षेत्रका संस्थानहरू तथा उबरजस्तो राइडशेअर कम्पनी पनि उड्ने सवारीसाधनको उद्योगमा इच्छुक देखिएका छन् । सन् २०४० सम्म सो उद्योगको कुल मूल्य १५ खर्ब डलरजति पुग्ने विश्लेषकहरूको अनुमान छ ।