ललितपुर, ११ असार । नेपालमा विगत २४ घण्टामा थप ४३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ११,१६२ पुगेको छ।
तीमध्ये २,६५० जना भाइरसमुक्त भएका र थप दुई जना गरी कुल २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
विगत २४ घण्टामा ३१२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। उनीहरूमध्ये पुरुषको सङ्ख्या धेरै छ।
बुधवार ६२९ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत साता असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। अहिले प्रदेश नं २ र ५ कोभिड–१९ बाट सर्वाधिक प्रभावित भएको देखिएको छ। कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
डा. गौतमका अनुसार विगत २४ घण्टामा ६,५४३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,९९,७३७ पुगेको छ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ। अहिले देशभरि ७४,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्। अहिलेसम्म रसुवाबाहेक सबै ७६ जिल्लामा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेका छन्।