ललितपुर, १३ असोज । आज थारु जातिहरुले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ ।
आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै, गाउँदै जितिया मनाइरहेका छन् । बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाउँछन् ।
बिहान दर खाएपछि महिलाहरु एक ठाउँमा जम्मा भएर गीत गाउँदै रमाइलो गर्छन् । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवाहरुको भनाइ छ ।
चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितियाको रौनक छाएको छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिलाहरू विहानैदेखि ‘उपास’ व्रत बसी झम्टा नाँच नाचेर रमाउँछन् ।
महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । आज बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गइ पिनाले नुहाइ पातमा पिना बगाउँछन् । त्यसपछि सबै व्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ ।
रुखको चारैतिर व्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा (जितिया व्रत कथा) घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै व्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् ।
खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने व्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।
हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा व्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको छ ।
थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढिहरुलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीहरुलाई जानकारी दिने गरेका छन् । पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् । चितवनको समथर भूभागमा झन्डै एक लाख ३० हजार हाराहारीमा थारु समुदायको बसोबास छ ।