ललितपुर, ५ असोज । नेकपा एमालेको एकल बहुमत कायम रहेको बखत २ भदौमा बागमती प्रदेशमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य १३ जना सांसदले एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा छिन् ।
मुख्यमन्त्री शाक्यले २५ असोजभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सरकार परिवर्तनका लागि तयारी अवस्थामा रहेको माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले शाक्यलाई विश्वासको मत लिनका लागि समय दिएको छ । एकीकृत समाजवादी पार्टीमा १३ जना सांसद लागेपछि अहिले प्रदेशसभामा एमाले ४३ सांसदमा खुम्चिनु परेको छ ।
बहुमत सांसद रहेको पार्टीको हैसियतमा मुख्यमन्त्रीको सपथ लिए पनि शाक्य यतिबेला संकटमा छिन् । संकटमा परेकै बेला पनि मुख्यमन्त्री शाक्य भने तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल झै विश्वासको मत पाउने दाबी गर्न थालेकी छन् ।
तत्काली नेकपा विवादमा मुख्यमन्त्री पौडेलविरुद्ध बहुमत सांसदले अविश्वासको प्रस्ताव हाल्दा उनले पनि आफूले विश्वासको मत लिने दाबी गर्थे । सर्वोच्च अदालतको आदेशले नेकपा विभाजन गरिदिएपछि एमाले एक्लैको बहुमत पुग्ने अवस्था बन्न जाँदा पौडेलले विश्वासको मत लिनै परेन ।
उनलाई एकल बहुमतको सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भयो । तर एमाले विवादमा केपी ओलीको कार्यशैलीसँग असन्तुष्ट रहँदै आएकी माधवकुमार नेपाल पक्षकी सांसद शाक्यलाई एमालेमै अड्याउनका लागि पौडेलले मुख्यमन्त्री पद हस्तान्तरण गरे ।
पार्टी विभाजनमा एमालेमै रहने निर्णय लिएपछि अल्पमतमा परेकी शाक्यको कुर्सी जोगाउन अर्को कुनै चमत्कारिक परिवर्तनबाहेक असम्भव हुने देखिएको छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने समय कुरेर बसेको गठबन्धन आफ्नै सरकार बनाउने तयारीमा छ ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेकका अन्य दलसँग मिलेर सरकार बनाउन पनि एमालेलाई बहुमत पुग्ने देखिँदैन । एमालेको ४३, विवेकशील साझाको ३, राप्रपाको २ र जसपा निकट १ स्वतन्त्र सांसदलाई समेट्ने हो भने ५१ जना पुग्छ । तर यो संख्याले बहुमत पुग्दैन ।
सरकार बनाउने बहुमतका लागि ५५ जना सांसदको समर्थन चाहिन्छ । माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग रहेका १३ जना गरी ५८ सांसदको गठबन्धनले सरकार बनाउन सक्ने भए पनि नेतृत्वको विषयमा भने कुरा मिलिरहेको छैन ।