ललितपुर, ३ असोज । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो ।
यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो ।
अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो । ओमानसँग भने नेपालले ओडीआईमा जितविहीन छ ।
आज घरेलु टोलीसँग मैदान उत्रँदा नेपालको दुईवटा लक्ष्य छन् । एउटा ओमानलाई हराउने अनि प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ गर्ने ।
२०२० फेब्रुअरीमा नेपालमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो । अहिले भइरहेको सिरिजमा पनि नेपाल ओमानसँग सहजै पराजित भयो ।
लिग टू को अंकतालिकामा शीर्ष स्थानमा रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ । यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि यस खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइ सकेका छन् ।
गत पुसमा एक वर्षका लागि प्रशिक्षक नियुक्त भएका वाटमोरले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको उल्लेख गरेका थिए । वाटमोरको प्रशिक्षणमा नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी२० त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो ।
यस्तै वाटमोरको प्रशिक्षणमा नेपालले ओमान टुरमै पहिलो पटक ओडीआई क्रिकेट खेलेको हो । अहिलेसम्म ओमानमा नेपालले पाँच म्याच खेल्दा तीन खेल जितेको छ भने दुई खेल हारेको छ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पनि सिरिजको अन्तिम खेल जित्दै टुरको सुखद अन्त्य गर्ने र प्रशिक्षकलाई पनि राम्रो फेरवेल दिने बताएका छन् । उनले ओमानविरुद्धको खेल जित्नुको विकल्प नरहेको बताए ।