एजेन्सी, २८ भदौ । भारतमा निपाह भाइरसका बिरामी देखिन थालेपछि नेपालको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सजग रहन आग्रह गरेको छ ।
एनआईभी भनिने निपाह भाइरसको सङ्क्रमण भरतमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । रोग नियन्त्रण महाशाखाले रोगको यकिन निदान नहुँदै वा तीव्र भाइरस सङ्क्रमणको अवस्था बिग्रँदै गएका र मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी न्यूनीकरण गर्न र तत्काल रिपोर्टिङ गर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।
नेपाल–भारत खुला सीमा भएकाले यो भाइरस नेपालमा पनि फैलन सक्ने जोखिम बढेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा निपाह भाइरसका कारण १२ जनाको मृत्यु भएको थियो ।
भारतकै केरला र उत्तर प्रदेशमा निपाह भाइरस सङ्क्रमितहरूको उपचारमा संलग्न नर्सको पनि मृत्यु भएको थियो । भारतमा निपाह भाइरसका बिरामी देखिन थोलेपछि नेपाली पनि सचेत हुनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी बताउँछन् ।
‘सरुवा रोग भारतमा देखियो भने नेपालमा पनि देखिने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘कोरोना सङ्क्रमण भारतमा बढ्यो भने नेपालमा पनि बढ्छ, सङ्क्रमण त्यहाँ घट्यो भने यहाँ पनि घट्छ । त्यसैले सजग हुनुपर्छ ।’
विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसलाई ठूलो महामारीका रूप लिन सक्ने दस घातक रोगमध्ये एउटा भनेको छ । भारतका विभिन्न ठाउँमा नेपाली कामदार कार्यरत छन् । चाडपर्व नजिकिँदै गर्दा भारतका विभिन्न भागबाट स्वदेश भित्रिने नेपाली बढेसँगै निपाह भाइरस पनि सर्ने जोखिम बढ्छ ।
निपाह भाइरस मान्छेबाट मान्छेमा एक त छँदैछ अर्कोतिर यो भाइरस पाइने चमेरा नेपालमा पनि पाइन्छ । यस्तै भारतबाटै सुँगुर, बङ्गुर यहाँ आयात गरिने हुँदा यो भाइरसको सङ्क्रमणको जोखिम धेरै छ ।
सरकारले निपाह भाइरस सङ्क्रमणको जोखिम बढ्न सक्ने भनेको छ तर यस भाइरस बारेमा अध्ययन अनुसन्धान भने थालिएको छैन ।
निपाह भाइरस पशुबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो । यो गम्भीर प्रकृतिको सङ्क्रामक रोग हो । प्राकृतिक रूपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा यो भाइरस पाइन्छ ।
चमेरो, बङ्गुरबाट निपाह भाइरस मान्छेमा सर्छ । सरुवा रोग विशेषज्ञहरूका अनुसार चमेराले खाएका फलफूलमा –याल मिसिन्छ र त्यस्ता फलफूल मानिसले खाएपछि सर्ने जोखिम हुन्छ । फ्रुट ब्याट जातको चमेरोले खाएको जुठो फलफूलबाट सर्छ । निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा पनि सर्छ । यस्तै सङ्क्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ ।
निपाह भाइरसको सङ्क्रमण पहिलो पटक सन् १९९९ मा सिङ्गापुर र मलेसियामा पहिचान भएको थियो । त्यसपछि २१ मे २०१८ मा दक्षिण भारतीय राज्य केरलामा देखिएको थियो ।
त्यही फ्रुट ब्याट भाइरस पशुपन्छी तथा फलफूलको माध्यमबाट निपाह भाइरस सर्ने जोखिम हुने सरुवारोग विशेषज्ञहरूको भनाइ छ ।
निपाह भाइरसबाट लाग्ने रोगको उपचार छैन । हालसम्म यो भाइरसको औषधिको विकास भएको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस विरुद्धको औषधि पत्ता लागेको छैन । यस्तै निपाह भाइरसविरुद्धको खोप पनि विकास भएको छैन । यो रोग लागेपछि आईसीयूमा राखेर उपचार गर्नुपर्छ । विशेषज्ञका अनुसार यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छन् । यो भाइरसबाट रोग लागेका मध्ये ७० प्रतिशत मानिसको मृत्यु हुनेगरेको पाइन्छ ।