ललितपुर, २० भदौ । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा अहिलेसम्म सेमिफाइनल पार गरेको छैन । छिमेकी भारतको भने सबैभन्दा फितलो प्रदर्शन नै सेमिफाइनलमा रोकिनु हो, जुन एकपल्ट भएको थियो । फाइनलमा तीनपल्टमात्रै चुकेको भारत दक्षिण एसियाकै सर्वाधिक सफल टिम हो । यस क्षेत्रको महारथी नै हो भारत । तैपनि उसलाई बारम्बार नेपालले टक्कर दिने गरेको छ ।
फुटबलमा नेपाल र भारतको प्रतिस्पर्धा भनेपछि जोस नै अर्कै हुन्छ । खेलको रौनक, रोमाञ्च, आकर्षण नै विल्कुलै फरक हुन्छ । सीमावर्ती क्षेत्रमा भारतको हेपाह प्रवृत्ति र अनाहकमा लगाइएको नाकाबन्दीको कारण आमनेपालीमा भारतविरोधी मानसिकता बढिरहेको छ । यसले पनि यी दुई देशका टिमको फुटबल मैदानको प्रतिस्पर्धाले ध्यान खिच्न मलजल गरेको छ । आमनेपाली आफ्नो टिमले मैदानमा भारतलाई पराजित गरेको हेर्न चाहन्छन । भारत पनि के कम ? आफ्नो प्रभुत्व कायमै राख्न चाहन्छ ।
दशरथ रंगशालामा भएको बिहीबारको खेल विश्लेषण गर्दा छर्लंगै हुन्छ । विशषगरी दोस्रो हाफको प्रदर्शन कुनै प्रतियोगिताको नकआउटको प्रतिस्पर्धाभन्दा कम थिएन । त्यो हाफ भारतले राम्रो खेल्यो । अन्त्यतिर नेपाली खेलाडीहरू केही थाकेजस्ता देखिन्थे । तर पाहुना टिमका खेलाडीलाई रोक्न कुनै कसर बाँकी राखेका थिएनन । उदाहरणका लागि कप्तान÷गोलकिपर किरण चेम्जोङले पेनाल्टी क्षेत्रबाहिरै बल हातले रोकेको दृश्य पर्याप्त छ । विपक्षीलाई रोक्ने प्रयासमा गरिने ‘फाउल’ त सामान्य भइहाले ।
यसपालिको साफ २०२१ अक्टोबर १–१६ मा माल्दिभ्समा हुँदै छ । यसैको तयारीमा नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय टिम काठमाडौं आएको हो । यो यात्रामा भारतको अर्को स्वार्थ पनि छ, नेपाललाई पराजित गरेर फिफा वरीयतामा माथि उक्लिँदै एसियन कप २०२३ छनोटको तेस्रो चरण ‘ड्र’ को ‘पट १’ मा पर्ने । अक्टोबरको वरीयताले छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने २४ टिमको वरीयता निर्धारण गर्छ । नेपाललाई हराएर वरीयता अधिकतम अंक बटुल्दै छनोट टिममध्ये शीर्ष ६ मा रहने भारतको दाउ हो । तर क्रोएसियन प्रशिक्षक इगोर स्टिमेकलाई सजिलो छैन भन्ने बिहीबार १–१ मा टुंगिएको खेलले पनि देखाइदियो ।
नेपालले बिहीबार अञ्जन विष्टले ३६ औं मिनेटमा अग्रता लिए पनि अनिरुद्ध थापाको गोलमा भारतले ६० औं मिनेटमा बराबरी गरेको थियो । भारतीय डिफेन्डर सिङ्लेनसाना सिंहको ‘ब्याकपास’ अञ्जनलाई उपहार नभएको भए खेलको कथा अर्कै हुनसक्थ्यो । किनभने दोस्रो हाफमा भारतको प्रदर्शन उत्कृष्ट थियो । कप्तान सुनील क्षेत्री दशरथ रंगशालामा आठौं खेलसम्मै गोलविहीन भए पनि उनको प्रहारमा किरणले रोकेको बलमा अनिरुद्ध बराबरी गरेका थिए । त्यो ‘मुभ’ पेनाल्टी क्षेत्रमा दिनेश राजवंशीभन्दा पछाडि रहेका उनले जसरी बल पछ्याए, त्यसैको मिहिनेत थियो बराबरी गोल । दिनेश वा किरण अलि चनाखो भएको भए त्यो गोल नहुन सक्थ्यो । सुनील बाहिरिएपछि अर्का फरवार्ड मनवीर सिंहले बारम्बार नेपाली डिफेन्सलाई चिरेका थिए ।