ललितपुर, १५ भदौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सक्ने भन्दै अनुमति र परिपत्र जारी गरेको छ । भदौ १५ देखि सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको छ । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिका (स्थानीय तह)ले अनुमति दिएको छ ।
नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाका अनुसार स्वास्थ्य सावधानी अपनाई स्वास्थ्य मापदण्ड पूरा गरेर, आवश्यक दूरी कायम गर्ने गरी विद्यालय सञ्चालनका लागि अनुमति दिइएको हो । अब भदौ १५ गतेदेखि गोकर्णेश्वरका निजी तथा सामुदायिक विद्यालयले भौतिक पूर्वाधारको अवस्था हेरी विद्यालय सञ्चालन गर्न सक्नेछन् ।
गोकर्णेश्वर नगरपालिकामा सञ्चालित निजी विद्यालयहरुले भौतिकरुपमै विद्यालय सञ्चालनका लागि अनुमति माग गर्दै निवेदन दिएका थिए । उनीहरुले नगरपालिकामा निवेदन दिनुअघि स्थानीय स्तरमा विद्यार्थीका अभिभावकसँग छलफल गरेर अभिभावकको सहमति लिएर भौतिकरुपमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । त्यसलगत्तै उनीहरुले निवेदन दिएका थिए । सोही निवेदनमाथि छलफल गर्दै नगरपालिकाको शिक्षा समितिले भदौ १५ गतेदेखि विद्यालय खोल्न सक्नेगरी अनुमति दिएको हो ।
प्रवक्ता ढुङ्गानाका अनुसार विद्यालयले सम्पूर्ण स्वास्थ्य सावधानी अपनाएर भौतिकरुपमै पठनपाठन गर्न सक्नेछन् । विद्यालयको भौतिक पूर्वाधार सानो छ र विद्यार्थी धेरै छन् भने उनीहरुले दुई सिफ्टमा आधा–आधा विद्यार्थी राखेर पढाउनुपर्ने ढुंगाना बताउँछन् । त्यसैगरी विद्यालयमा भौतिक दूरी कायम भएको, साबुन, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध भएको हुनुपर्नेछ भने तापक्रम नापेर मात्रै विद्यालयमा प्रवेश दिइनेछ ।
यदि कुनै विद्यालयमा संक्रमण फैलियो भने उक्त विद्यालय तत्काल बन्द गरिनेछ र कुनै टोलमा संक्रमण बढेको पाइएमा पनि उक्त टोलका विद्यालय बन्द गर्न सक्ने छ । प्रवक्ता ढुंगानाका अनुसार विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरेको वा नगरेको आदिका लागि नगरपालिकाको शिक्षा शाखाले अनुगमन गर्ने बताईएको छ ।