ललितपुर, ११ भदौ । आज रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ । परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।
बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं. १ को सहुवाटिकर, वडा नंं. २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं. ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पुरै डुबानमा परेको हो ।
बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसेर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।
वर्षा नरोकिएका कारण बाढी र डुबानले पु¥याएको क्षतिको विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ । घर भित्रै बाढी पसेकाकारण एक तले घर हुने कैयौं परिवारले वर्षाकै बीच घरको छतमा रात कटाउन बाध्य भएको परासीका स्थानीय बासिन्दाले बताए ।
जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाको केही वडाहरु पनि बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ।