ललितपुर, १० भदौ । सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि धकेलिएको छ ।
सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।
एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ । गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।
माधव नेपाललाई स्थान दिँदा काँग्रेसले ३, माओवादीले २ र जसपाले १ मन्त्री गुमाउनुपर्नेछ । किनभने, नेपाल पक्ष सरकारमा सहभागी नभएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्य मन्त्री पाउने सहमति भएको थियो । यस्तै माओवादीले सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो ।
२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ । यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको हो ।
माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको छ ।