ललितपुर, १० भदौ । एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल खोलेसँगै प्रदेश १ को सत्ता–राजनीति तरंगित भएको छ । प्रदेशमा सत्तारूढ एमालेको बहुमत कायम राख्न मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यलाई मुख्यमन्त्रीमा शपथ गराउने तयारी थालिएको छ ।
एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री परिवर्तनका लागि बिहीबार बिहान ११ बजे प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बोलाइएको बताए । ‘दलको बैठकले पार्टीको संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गर्नेछ,’ उनले भने, ‘आचार्यज्यू दलको नेता चयन हुनुभएपछि वर्तमान मुख्यमन्त्री शेरधन राईज्यूले राजीनामा दिने र उहाँलाई मुख्यमन्त्री बनाएर शपथ ग्रहण गराउने तयारीमा छौं ।’
काठमाडौंमा रहेका आचार्यलगायत प्रदेश सांसदहरू अहिले विराटनगर आउने क्रममा रहेको प्रमुख सचेतक राजभण्डारीले बताए । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना सांसद छन् ।
एमालेका सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार छन् । दल विभाजनको स्थितिमा प्रदेशसभामा बहुमत कायम राख्न आवश्यक ४६ सांसदलाई एमालेमा रोक्न चुनौती देखिएपछि मुख्यमन्त्री राईले राजीनामा दिएर सहजीकरण गर्न लागेको राजभण्डारीको भनाइ थियो ।
एकीकृत समाजवादीमा खुलेका आठ सांसदलाई अधिकतम चार जनामा सीमित गर्ने रणनीतिसाथ एमालेले मुख्यमन्त्री परिवर्तनको चाल चलेको हो । प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, राजन राई, सुनीताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरे एकीकृत समाजवादीमा लागेका छन् ।
तीमध्ये चौधरी, थापा, साँवा र घिमिरे भीम आचार्यनिकट मानिएकाले उनलाई मुख्यमन्त्री बनाए चार जना यतै फर्कने विश्वासका साथ राईलाई राजीनामा दिन लगाइएको एमालेनिकट एक नेताले बताए ।
एमालेका ६ सांसद सावित्रीकुमारी रेग्मी, लीलावल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङ अहिलेसम्म तटस्थ छन् । उनीहरूलाई पनि समाजवादीतिर जान नदिने रणनीतिसाथ एमाले अघि बढेको छ ।