ललितपुर, ३१ साउन । कोरोना संक्रमण घटेको भन्दै प्रशासनले निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमणको दर पनि ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक ठाउँमा भिडभाड बढेको छ भने विभिन्न सभा, गोष्ठीहरु पनि सञ्चालन भइरहेका छन् ।
लक्षित वर्ग तोकेर कोभिडविरुद्धको खोप अभियान पनि जारी छ । तर, ती खोप केन्द्रमा सामान्य स्वास्थ्य मापदण्डसमेत पूरा भएको छैन । यिनै कारण पछिल्लो समय कोरोना संक्रमण बढेको विज्ञहरु बताउँछन् ।
‘जता गयो उतै भिडभाड छ । सार्वजनिक कार्यक्रम भइराखेको छ । सार्वजनिक सवारीको अवस्था त्यस्तै छ,’ ‘सबैभन्दा बढी संक्रमण खोप केन्द्रबाटै बढेको देखिन्छ । पूरै अव्यवस्थित छ, त्यहींबाट फैलिएको मान्न सकिन्छ ।’ खोप केन्द्र अव्यवस्थित भएको भन्दै जनस्तरबाट समेत विरोध हुँदै आएको छ ।
गण्डकी प्रदेशका २ जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि दुबैले शुक्रबार स्वाब परीक्षण गरेका थिए । दुवैको नतिजा कोरोना पोजेटिभ देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको सचिवालयले जानकारी दिएको छ ।