ललितपुर, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार सत्ता गठबन्धन दलका तर्फबाट सार्वजनिक गरेको सरकारको साझा नीति तथा कार्यक्रममा नेपालमा कोभिड खोप उत्पादन गर्न प्रयोगशाला स्थापना गर्ने योजना समावेश भएको छ।
गत साता मन्त्रिपरिषद्ले पनि कोरोनाभाइरसविरुद्ध खोप उत्पादन गर्न इच्छुक कम्पनीलाई अनुमति दिनेबारे प्रक्रिया अघि बढाएको चर्चा चलेको थियो।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले त्यस विषयमा छलफल अघि बढाएको जानकारी दिए। तर त्यसबारे विस्तृत विवतरण दिन चाहेनन् । अधिकारीहरूका अनुसार नेपालले आफैँ नयाँ खोप बनाउनेभन्दा पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको कुनै विदेशी कम्पनीको खोप उत्पादनका लागि स्वीकृति दिने प्रक्रिया अघि बढाएको हो ।
यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्य योजना सार्वजनिक गर्दै कोभिड खोप नेपालमै व्यावसायिक उत्पादनका सम्भावनाबारे अध्ययन अघि बढाएको बताएका थिए।
नेपालमा अहिले कोभिड खोप उत्पादन गरिहाल्ने प्रविधि र क्षमता नभए पनि सरकारले सहजीकरण गरे नेपालमै खोप उत्पादन सम्भव रहेको उत्पादकहरूले बताएका छन् ।
खोप उत्पादनका लागि विदेशी कम्पनीहरूसँग समेत सहकार्य गर्न सकिने भए पनि उत्पादन सुरु गर्न समय लाग्न सक्ने औषधि उत्पादकहरूको भनाइ छ।
नेपाल औषधि उत्पादक सङ्घका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठका अनुसार नेपालमा कोभिड विरुद्धको खोप उत्पादनका लागि संरचना तयार गर्न मात्रै कम्तीमा छ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ।
“यस्तो खोप उत्पादन गर्न जोखिम व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो। यसका लागि धेरै उच्च तहको सावधानी र जोखिम न्यूनीकरण घेराहरू तयार गर्नुपर्ने हुन्छ,“ श्रेष्ठ भन्छन्।
नेपालमा कुनै एउटा मात्रै औषधि उत्पादक भन्दा धेरै उत्पादक कम्पनीहरू मिलेर कोभिड खोप उत्पादनका लागि सहकार्यको आवश्यकता रहेको उनको भनाइ छ।
“त्यसका लागि सरकारले जग्गा उपलब्ध गराउने र कच्चा पदार्थ लगायत खोपका लागि आवश्यक सामग्रीमा कर छुट दिने प्रबन्ध गरे नेपालमा उत्पादन हुने खोपले विश्व बजारमा प्रतिस्पर्धा समेत गर्न सक्छ,“ उनी थप्छन्।
नेपालमा खोप उत्पादन गर्न प्रविधिको अभाव रहे पनि जनशक्तिको कुनै अभाव नरहेको औषधि उत्पादकहरूको भनाइ छ।
त्रिपुरेश्वरस्थित सरकारी प्रयोगशालामा पशुपक्षीको खोप परीक्षण तथा उत्पादन हुन्छ । नेपालमा कोभिड खोपको उत्पादनका लागि आफूले समेत पहल गरिरहेको बताउने देउराली जनता फर्मास्युटिकल्स उद्योगका कार्यकारी निर्देशक हरिभक्त शर्माले सरकारले उत्पादनको पहल अघि बढाउनु स्वागतयोग्य भएको उल्लेख गरे।
“हामीले विश्वव्यापी महामारीसँग जुध्न हाम्रो तर्फबाट के गर्न सकिन्छ भनेर पहल गरिरहेकै थियौँ। तर सरकारको नीतिगत निर्णय नहेरी यस विषयमा थप टिप्पणी गर्न अपरिपक्व हुन्छ,“ शर्मा भन्छन् । बिबिसी