ललितपुर, २५ साउन । कोरोना पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बसेका पोखरा–३ नदीपुरका ५७ वर्षीय पुरुषलाई शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । उनको परिवारले एम्बुलेन्स बोलाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥यायो । अस्पतालले उनलाई आईसीयूमा राख्नुपर्ने भए पनि आफ्नोमा बेड खाली नभएको बतायो ।
संक्रामक तथा सरुवा रोग अस्पतालमा सम्पर्क गर्दासमेत बेड खाली नभएको जानकारी पाएपछि एम्बुलेन्स चालकले उनलाई पोखराकै एक निजी अस्पताल पु¥याए ।
प्रतिष्ठानका २५ कोभिड आईसीयू बेड दुई सातायता भरिएका छन् । प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ७ बेड आईसीयूसमेत भरिएको छ । सरकारी अस्पतालमै पर्याप्त आईसीयू बेड नहुँदा संक्रमितले निजी अस्पतालमा उपचार गराइरहेका छन । सरकारीमा बेड नपाएपछि महँगो रकम तिरेर निजी अस्पतालमा उपचार गराइरहेको संक्रमितका आफन्तले बताए । ‘सरकारीमा बेड भएको भए निःशुल्क उपचार हुन्थ्यो,’ उनले भने, ‘निजीमा उपचार खर्चबापत केही रकम पाए पनि असाध्यै महँगो छ ।’
कोरोना महामारीको सुरुवातताका गण्डकी प्रदेशमा १ सय ७६ कोभिड आईसीयू बेड र ५७ भेन्टिलेटर थिए । प्रदेशभर कोभिड उपचार गर्ने अस्पतालको संख्या बढे पनि तुलनात्मक रूपमा आईसीयू बेड र भेन्टिलेटरको संख्या बढाइएको छैन । हाल प्रदेशभर सरकारी, सामुदायिक र निजी अस्पतालमा २ सय १४ कोभिड आईसीयू बेड र ८३ भेन्टिलेटर छन् । सरकारी अस्पतालमा आईसीयू बेड ६० र भेन्टिलेटर ३० को हाराहारीमा मात्रै छन् । केही जिल्ला अस्पतालमा भेन्टिलेटर रहे पनि जनशक्ति अभावमा आईसीयू सञ्चालन हुन सकेका छैनन् । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ आईसीयू बेड र ७ भेन्टिलेटर छन् । अस्पतालकै एक चिकित्सक भने भएका आईसीयू बेड पनि स्रोतसाधन सम्पन्न नभएको बताउँछन् । ‘बेडमा मनिटरमात्रै राखेर आईसीयू हुँदैन,’ उनले भने, ‘भेन्टिलेटरसहितको बेड हुनुपर्नेमा त्यस्तो छैन ।’ अस्पतालले २ सय बेड संख्या थप गर्ने भने पनि अहिलेसम्म थपिएको छैन । ५ सय बेडको स्वीकृति लिएको यो अस्पतालमा हाल जम्मा ३ सय ५० बेड छन् । तीमध्ये ८० बेड मात्रै कोभिड संक्रमितका लागि छुट्याइएको छ ।
अस्पतालले हाल बनेको नयाँ प्रसूति भवनमा कोभिडका लागि २ सय बेड थप गर्ने बताएको थियो । त्यसका लागि अक्सिजन पाइपलाइन विस्तार गर्न टेन्डरसमेत आह्वान गरेको थियो । हाल उक्त भवनमा प्रसूति वार्ड सारिएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले २ सय बेड एकैपल्ट विस्तार गर्न नसकेको स्विकारे । ‘पाइपलाइन विस्तारमा हामीले भनेको गुणस्तरको सामग्री ल्याउने ठेकेदार भेटिएनन्, त्यसैले पुनः टेन्डर आह्वान गर्नुप¥यो,’ उनले भने, ‘प्रक्रियागत रूपमा केही ढिलो भएकै हो ।’ उनले सुरुमा ३५ बेड थप्ने र त्यसपछि थप्दै जाने बताए ।
प्रदेशले सञ्चालन गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा ७ आईसीयू बेड र ७ भेन्टिलेटर छन । धौलागिरि अस्पताल बागलुङमा ४ आईसीयू बेड र ४ भेन्टिलेटर, मध्यविन्दु अस्पताल पूर्वी नवलपुरमा ५ आईसीयू बेड र ३ भेन्टिलेटर, बेनी अस्पताल म्याग्दीमा ५ आईसीयू बेड, दमौली अस्पताल तनहुँमा ७ आईसीयू र ४ भेन्टिलेटर, जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा २ भेन्टिलेटर छन् । लमजुङ, पर्वत र गोरखामा २ देखि ५ बेडका कोभिड आईसीयू छन् । ती पनि जनशक्ति अभावमै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । मनाङ जिल्ला अस्पताल, मुस्ताङ जिल्ला अस्पताल, बन्दीपुर अस्पताल, शिशुवा कोभिड अस्पाल र मातृशिशु अस्पतालमा आईसीयू र भेन्टिलेटर दुवै छैनन ।
जनशक्ति अभावमा प्रदेशले आईसीयूको सट्टा एचडीयूलाई प्राथमिकतामा राखेको छ । प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्का जनशक्ति अभावकै कारण आईसीयू बेड बढाउन नसकेको बताउँछन । ‘आईसीयूलाई चाहिने उपकरण, औजार मात्रै भएर नहुँदो रहेछ, जनशक्ति पनि त्यही किसिमको चाहिन्छ,’ उनले भने, ‘अलि दुर्गम जिल्लामा जनशक्ति जान मानेनन ।’
भेन्टिलेटरको भने प्रयोग नै कम भइरहेको उनले बताए । संक्रमितका आफन्तले नै हत्तपत्त भेन्टिलेटरमा राख्न नमान्ने अनुभव उनले सुनाए । ‘संक्रमितलाई सकेसम्म होम आइसोलेसनमै राख्न जोड दिने नभए नजिकको अस्पतालमा आइसोलेसनमा राख्ने, स्वास्थ्यमा समस्या आए एचडीयूमा राख्ने र त्यसपछि मात्रै भेन्टिलेटरमा लैजाने गरिन्छ,’ उनले भने, ‘भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आउँदा पोखरा नै ल्याउने र यहाँ नभए काठमाडौं पठाइन्छ ।’ उनका अनुसार भेन्टिलेटरभन्दा हाई फ्लो अक्सिजन दिएर एचडीयूमा राख्नुपर्ने संक्रमित बढिरहेका छन् । प्रदेशभरका अस्पतालमा ४ सय ७२ एचडीयू बेड छन् । तीमध्ये ५० प्रतिशत खाली छन् । ५ सय ८१ आइसोलेसन बेडमध्ये ४ सय ६२ खाली छन । २ सय १४ आईसीयू बेडमध्ये १ सय ४३ खाली रहेको कान्तिपुरले लेखेको छ ।