ललितपुर, १७ साउन । नेपालमा थप २,५६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १८ जनाको कोभिड–१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आइतवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १२,६३६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ४,२३४ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८७५ पुगेको छ।
काठमाण्डू उपत्यकामा मात्र पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८,७८७ छ। धेरै मानिसले परीक्षण नगराएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने विज्ञहरूको भनाइ छ।
अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा २,०२० जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल ३१,२९८ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। तीमध्ये २८,०६३ जना घरमा तथा ३,२३५ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ६७७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६९ जना भेन्टिलेटरमा छन्। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ५९४ जना काठमाण्डूमा, २०७ जना झापामा, २०४ जना कास्कीमा फेला परेका हुन्। सङ्क्रमितको सङ्ख्या अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम जारी छ ।