ललितपुर, १७ साउन । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो ।
गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
झोलुङ्गे पुलले हेलम्बुको तीन र चार नम्बर वडालाई जोड्दथ्यो । यसैगरी पक्की पुल (रातो पुल) ले हेलम्बु र मेलम्चीलाई जोड्दथ्यो । यो एकमात्र पक्की पुल (ट्रस्ट ब्रिज) पनि बगेपछि हेलम्बुसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गतेको बाढीमा रेडियो मेलम्चीको भवन डुबानमा परेको थियो ।
मेलम्चीमा गएरातिदेखि नै फेरि लेदो माटोसहितको बाढी आएको छ । मानवीय क्षति भने भएको छैन । हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि ठूलो बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै बाढी बगेको छ । बाढी अहिले पनि नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
बाढीपहिरो पीडितहरु विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्यामा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।
गएराति बाढी आउने सूचना प्रवाह गर्दै स्थानीयलाई सुरक्षित रहन भनिएको थियो । कतिपयलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो ।