ललितपुर, १३ साउन । कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) को हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्नुप¥यो भने ०.४ प्रतिशतको मात्र मृत्यु भयो ।
छिमेकी मुलुक भारतमा गरिएको यो अध्ययनले कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प रहेको देखाउँछ । यस्तै, खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि अर्को अध्ययनले दाबी गरेको छ ।
‘टाइम्स अफ इजरायल’ मा प्रकाशित इजरायलको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनबारेको समाचारअनुसार खोप लिएका १० प्रतिशत व्यक्तिले एक जनासम्मलाई संक्रमण फैलाउन सक्छन् भने खोप लिएका ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्छन । ७ प्रतिशतले संक्रमण फैलाउन पनि सक्छन् वा नफैलाउन् पनि सक्छन । इजरायल सरकारले रेस्टुरेन्ट, जिम, इभेन्ट हल, म्युजिक कन्सर्टलगायतका स्थानमा पुगेर व्यक्तिको नमुना लिई अध्ययन गरेको थियो । इजरायलको करिब ६० प्रतिशत जनसंख्याले पूर्ण रूपमा खोप लिइसकेको छ ।
नेपालमा भने खोप लगाएकाहरूमा देखिएको संक्रमण अवस्थाबारे तथ्यांक संकलन भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् । हालसम्मको प्रारम्भिक विश्लेषणअनुसार दुई डोज खोप लगाएकाहरू पनि अस्पताल त भर्ना भएका छन् तर यो संख्या निकै कम छ । मंगलबारसम्ममा ३४ लाख ६२ हजार ३ सय ४० जनाले पहिलो डोज र १४ लाख ५७ हजार ६ सय ७० जनाले पूर्ण डोज खोप लगाइसकेका छन । हालसम्म नेपालमा खोप लगाउने जनसंख्या ११ प्रतिशतभन्दा बढी पुगेको छ ।
दोस्रो लहर सुरु हुँदा करिब ६० प्रतिशतमा अल्फा भेरिएन्ट भेटिएको र हाल करिब शतप्रतिशतमै डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन । पछिल्लो दुई सातादेखि डेल्टाबाहेक अन्य भरिएन्ट नदेखिएको उनको भनाइ छ । अल्फा भेरिएन्ट कोभिडको प्रारम्भिक (ओरिजिनल) भेरिएन्टको दाँजोमा ६० प्रतिशतभन्दा बढी संक्रामक छ । डेल्टा अल्फाभन्दा पनि ६० प्रतिशत बढी संक्रामक हो । उनका अनुसार पूर्ण डोज खोप लगाएपछि पनि संक्रमित भएका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी र सम्पर्कमा आएका व्यक्तिमा रोगको कडापन खासै देखिएन । ‘खोप लगाएकाहरूमा कोमर्बिडिटी (एकभन्दा बढी दीर्घ रोग) भए पनि कडा र जटिल संक्रमण देखिएन,’ उनले भनिन । दसैंताका कोभिडको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारी निकायलगायत विज्ञहरूले दिँदै आएका छन ।
तर खोपको उपलब्धता विस्तार गर्ने हो भने भयावह अवस्थाबाट जोगिन सक्ने विज्ञ बताउँछन । ‘हालसम्म जुनुसुकै भेरिएन्ट आए पनि पहिले नै बनेको एन्टिबडी र खोपको केही न केही असर देखिएको छ,’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले भने, ‘अब खोप कार्यक्रमलाई तीव्रता दिनुपर्छ ।
सबैमा खोप सुनिश्चित गर्न सक्यौं भने नयाँ भेरिएन्ट आए पनि दोस्रो लहरको दाँजोमा अवस्था भयावह हुँदैन ।’ केही महिनायताको अवस्थाले संक्रमण नियन्त्रणमा खोप नै प्रभावकारी देखिएको उनले बताए । एक वा दुई डोज खोप लगाएकामा समेत संक्रमण देखिए पनि गम्भीर समस्या नदेखिएको कान्तिपुरले लेखेको छ ।