ललितपुर, ७ साउन । भारतमा कालो ढुसी (ब्ल्याक फंगस) को संक्रमणबाट ४ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । विशेषगरी कोरोना संक्रमितमा देखिने कालो ढुसीबाट अहिलेसम्म भारतमा ४५ हजार ३ सय ७४ जना संक्रमित भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मनसुख माण्डवीयले जानकारी दिएका छन् ।
कालो ढुसीले नाक, आंखा र मस्तिष्कमा असर पुरÞ्याउने चिकित्सकको भनाइ छ । चिकित्सकहरुका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त भएको १२ देखि १८ दिनपछि कालो ढुसीको संक्रमण देखिने सम्भावना हुन्छ ।
बीबीसीका अनुसार अहिले पनि भारतमा झन्डै २२ हजार कालो ढुसीका संक्रमित उपचाररत रहेका छन् । कालो ढुसीको संक्रमणबाट महाराष्ट्र र गुजरात सबैभन्दा बढी प्रभावित राज्य हुन् । यी दुई राज्यमा १७८५ को कालो ढुसीको संक्रमणबाट मृत्यु भएको कान्तिपुरले लेखेको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी (म्युकरमाइकोसिस) को संक्रमण नेपालमा पनि केहीमा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा ध्यान पु¥याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ । ब्ल्याक फंगससमेत भनेर चिनिने यस रोगको प्रारम्भिक लक्षमा अनुहार, मुख, नाक र आखाँवरिपरि दुख्ने हुन्छ ।
त्यस्तै यसका कारण ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने पनि गर्छ । आँखाको ढकनी सुनिने, र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने पनि यसको लक्षण भएको मन्त्रालयले जनाएको छ ।
४५ देखि ६५ वर्ष उमेर समूह, मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटेक वा स्टेरोइड औषधि सेवन गरिरहेकाहरुलाई कालो ढुसीको संक्रमण हुने उच्च जोखिम रहन्छ ।
घरमा आइसोलेसनमा बस्दा यो कालो ढुसीबाट बच्न विभिन्न उपायहरु अपनाउन सकिने चिकित्सकहरुको सुझाव छ । कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने पनि चिकित्सकको भनाइ छ । कालो ढुसीबाट संक्रमित भएकाको उपचारमा ‘एम्फोटेरिसिन–बी’ नामक औषधि प्रयोग गरिन्छ ।
संक्रमण रोकथामका लागि अपनाउनुपर्ने उपायहरु
सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने
नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
व्यक्तिगत स्वच्छतामा ध्यान दिने
घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
नुनिलो पानीले नाक सफा गर्ने
पोभिडिन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने
सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने
स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने