ललितपुर, ६ आसार । निषेधाज्ञा खुकुलो पारेर लामो दूरीको सार्वजनिक यातायात खुला गरिए पनि यात्रुहरू तोकिएभन्दा बढी भाडा तिर्न बाध्य भएका छन् । व्यवसायीहरूले दूरीका आधारमा ४० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म अतिरिक्त उठाउने गरेको पाइएको छ ।
बाराको पथलैयास्थित २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको पछिल्लो दुई दिनको तथ्यांकले यसलाई पुष्टि गर्छ । कार्यालयले दुई दिनयता ३० वटा सवारी साधनलाई कारबाही गरेको छ । ती सवारीका ४ सय ३२ यात्रुसँग लिइएको बढी भाडा फिर्ता गराइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार गरिएको जाँचमा ११ वटा बस र १२ वटा टाटा सुमोलाई एक हजार रुपैयाँदेखि लिएर ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जनाए । उनका अनुसार नवलपुर, निजगढ, गौर, वीरगन्ज, चपुर, बंकुल, मौलापुरलगायत सहरबाट काठमाडाँै जाने टाटा सुमोले यात्रुसँग ४० रुपैयाँदेखि १ हजार ६० रुपैयाँसम्म बढी भाडा लिएका थिए । यसै गरी काँकडभिट्टा, बहरथवा, गौर, पोखरिया, गडैता, रघुनाथपुर, गौशाला, मलंगवाबाट काठमाडौं जाने बसले यात्रुसँग ५ सय रुपैयाँसम्म बढी भाडा असुलेका थिए ।
डीएसपी जैसवारका अनुसार आइतबार पथलैयामा जाँच गर्दा बाराको कलैयाबाट पोखरा जाने ना७ख ११११ नम्बरको बसले २८ जना यात्रुसँग एक हजारको दरले बढी भाडा लिएको पाइएको थियो । त्यस्तै रौतहटको गौरबाट काठमाडौँ र पोखरा जाने बसहरूले ७ सय रुपैयाँ थप लिएका थिए । सर्लाहीको चक्रघटादेखि काठमाडौँ जाने ना७ख २७९० नम्बरको बसले प्रत्येक यात्रुसँग ८ सय रुपैयाँ बढी असुलेको थियो ।
‘आइतबार मात्र प्रहरीले १ सय ८३ जना यात्रुसँग असुलिएको १ लाख २४ हजार दुई सय रुपैयाँ फिर्ता गराएको थियो,’ जैसवारले भने, ‘बढी भाडा लिने यात्रुवाहक सवारी साधनलाई ५ हजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।’
सार्वजनिक सवारी सञ्चालकले भने राजमार्गमा खटिएका प्रहरीले सवारी पास नभएकासँग ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म असुल्ने गरेकाले यात्रुसँग बढी भाडा लिएको बताएका छन् । ‘लामो दूरीका सवारीसाधन एकबाट अर्को जिल्ला प्रवेश गर्दा राजमार्गका प्रहरीले प्रशासनको पास माग्ने गरेका छन्,’ वीरगन्जका एक बस व्यवसायी भन्छन्, ‘पास नहुनेले प्रत्येक चौकीमा ५ सयदेखि पन्ध्र सय रुपैयाँसम्म बुझाउन पर्छ ।’ सिमराबाट काठमाडौं पुग्दा एउटा बसले कम्तीमा ९ हजार र पोखरा पुग्दा ८ हजार रुपैयाँ अतिरिक्त खर्चिनुपरेको ती व्यवसायीले खुलाए ।
प्रहरी स्रोतका अनुसार राजमार्गमा खटिएका प्रहरीले सार्वजनिक सवारीसँग रकम असुलेको गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयबाट उपरीक्षकको टोली आइतबार निरीक्षणमा आएको थियो । त्यस क्रममा पथलैया प्रहरी चौकीका प्रहरी जवानले अवैध रकम असुलेको पाइएपछि मंगलबार सम्पूर्ण टोली नै जिल्ला प्रहरी कार्यालय बारामा तानिएको छ ।