ललितपुर, २२ असार । नेपालमा थप २,६३४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार बताएको छ ।
पछिल्लो २४ घण्टामा १२,५८५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये ५,०८२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो । कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
सो अवधिमा १,५६५ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९४.६ प्रतिशत पुगेका छन् । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ८८ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,२६३ पुगेको छ।
अहिले कुल २२,९६९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८५९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । मङ्गलवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४९९ जना काठमाण्डू उपत्यकामा रहेका छन्।
अहिले देशभरिका आठ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।
मङ्गलवार पुष्टि भएकामध्ये काठमाण्डूमा ३६५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १०५ र २९ जना रहेका छन्। एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १७६ जना, मोरङ ११२, सुनसरी १३५ र कास्की १०३ जना रहेका छन्।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५६७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा छन् ।