ललितपुर, २१ असार । वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई सरकारले खुकुलो बनाउदै गएको छ । तर कोरोना संक्रमण दरमा भने कमि आएको छैन ।
काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो बनाएर थप एक साता लम्ब्याउने तयारी गरेको छ । संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्दा दैनिक करिब ९ हजारको हाराहारीमा संक्रमित थिए । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएपछि दैनिक संक्रमितको संख्या २२-२३ सयको हाराहारीमा देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल संक्रमण दर १९.१ प्रतिशत छ । कोरोना संक्रमणको दर अझै करिब २० प्रतिशतको हाराहारीमा रहेकाले जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।
विगत एक महिनादेखि कोरोना संक्रमण दर २० देखि ३० प्रतिशतको आसपास कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ ।
स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार असार १३ गते अर्थात् गत आइतबार ३१० जना संक्रमित भए भने क्रमशः सोमबार २४७, मंगलबार ३०७, बुधबार यो संख्या बढेर ५१६ पुग्यो । यस्तै बिहीबार ३३६, शुक्रबार २६५ र शनिबार २१५ जनामा संक्रमण पुष्टि भयो ।
देशभरको संक्रमित संख्यामा स्थिर भए पनि गएको साता यता काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा संक्रमितको संख्या स्थिर देखिएको छैन । काठमाडौं जिल्लामा एक साता यता ८४७ जनामा कोरोना पुष्टि हुँदा ललितपुर जिल्लामा ७१३ संक्रमित देखिएका छन् भने भक्तपुरमा ६३६ जना संक्रमित पाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
गत आइतबार देशभर संक्रमितको संख्या १ हजार ९२० मा झरेको थियो । निषेधाज्ञा खुकुलो हुँदै गएपछि सोमबार संक्रमितको संख्या बढेर २ हजार ४४४ पुग्यो । मंगलबार संक्रमितको संख्या बढेर २ हजार ६३६ पुग्यो भने बुधबार २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ ।
यस्तै, बिहीबार २ हजार ७६०, शुक्रबार २ हजार २९९ र शनिबार २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भयो । जनस्वास्थ्यविज्ञहरु संक्रमणको यो दरलाई स्थिर नै मान्छन् तर ढुक्क हुने अवस्था नरहेको उनीहरुको भनाइ छ ।