ललितपुर, २१ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार राति करिब डेढ घण्टासम्म उपाध्यक्ष डा भीमबहादुर रावलसँग भएको छलफल सकारात्मक रहेको पाइएको छ । उहाँहरूको बीचमा पार्टी जीवनको विषयमा लामो कुराकानी भएको र अध्यक्ष ओलीले एमालेलाई एकतावद्ध बनाउन तयार रहेको सन्देश रावल मार्फत माधव नेपाल समूहलाई दिनुभएको छ ।
उहाँहरूको बीचमा भएको छलफलमा उपाध्यक्ष रावलले पुरानै अडानहरू दोहोर्याउनु भएको थियो । रावलले पार्टी विधिमा चल्नुपर्ने विषयमा कुरा राख्नुभएको बुझिएको छ । उहाँले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा समावेश भएको हस्ताक्षर विषयमा अड्किएर एमालेको एकताको कुरा गर्न नहुने भन्दै फैसला जस्तो आए पनि एमाले एकतावद्ध भएर अघि बढ्नुपर्ने कुरा राख्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले पनि सहमति जनाउनुभएको छ ।
मुख्य कुरा एमालेको एकताको भएको भन्दै एमाले एक ठाउँमा रहने अवस्थामा माधव नेपाल विपक्षी गठबन्धनको कार्यक्रममा सहभागी हुन नजाने रावलले बताउनुभएको थियो । उहाँले यो बीचमा दुबै पक्षबाट भएका कतिपय गतिबिधिले इतिहासले समिक्षा गर्ने भन्दै आगामी एमाले विभाजन भन्दा पनि मिलनमा सबैको भविष्य रहेको कुरा बताउनुभएको थियो । रावलले यसअघि ओली र नेपालले सहमतिमा गठन गरेको कार्यदललाइ जिम्मा दिएर प्राविधिक विषय एकदिनमा हल गरेर सहमति पुग्नुपर्ने बताउनुभएको छ ।
उहाँहरूको बीचमा सकारात्मक कुरा भएपछि प्रधानमन्त्रीले रावलसँग माधव समूहका नेताहरूसँग छलफल गर्न अनुरोध गर्नुभएको थियो । सोही अनुसार रावलले आज सोमबार समूहका नेताहरूसँग अध्यक्ष ओलीसँग भएको कुराकानीको आधारमा छलफल गरेर केही निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
माधव नेपाल पनि पछिल्लो समय रावलको भन्दा अरूको कुरामा विश्वास गर्न छाड्नु भएको छ । जसको कारण उक्त समूह नै दुइ समूह जस्तो बनिसकेको छ । नेपाल र रावाल एकतातिर हुनुहुन्छ भने घनश्याम भुषाल, गोकर्षण विष्ट,भीम आचार्य र सुरेन्द्र पाण्डे एकातिर हुनुहुन्छ । यसलाइ कतिपयले पूर्व माले र झलनाथ समूह ओलीसँग नजिक भएको र माधव नेपाल समूह थप एक्लो बनेको भनेर समेत व्याख्या गरेका छन ।
रावलले डेढ घण्टासम्म वान टु वान कुरा गर्नुभएको थियो । माधव नेपाल र भीम रावलसँग ओलीको सम्बन्ध बिग्रिएको चर्चा चलिरहेको बेलामा ओली नै बोलाएर रावल बालुवाटार जानु र उहाँहरूको बीचमा सकारात्मक कुरा हुनुले एमाले पुरानै अवस्थामा फर्किएर एउटा सवल पार्टी बनेर हिड्ने अपेक्षा आम कार्यकर्ताले गरेका छन ।