ललितपुर, १० असार । धेरैजसो जिल्लामा सक्रिय संक्रमितको संख्या घटे पनि निषेधाज्ञा खुकुलो भएपछि आगामी दुई सातामा सक्रिय संक्रमितको संख्या बढ्ने जोखिम रहेको विज्ञहरूले बताएका छन । अघिल्लो साताको दाँजोमा हाल ६४ जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दो छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १३ जिल्लामा संक्रमण थोरै बढेको छ । पाँचथर, तेह्रथुम, नुवाकोट, बागलुङ, जुम्ला, रुकुम पश्चिम, बाजुरा, कास्की, मुस्ताङ, डोल्पा, संखुवासभा दोलखा र रसुवामा पछिल्लो समय संक्रमण बढेको हो ।
‘संक्रमणको अवस्था एकदमै घटेको भने छैन,’ ‘तर ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या धेरै घटेको छ । पछिल्लो साता औसत संक्रमण दर करिब २० प्रतिशत हाराहारी छ ।’ दोस्रो लहरमा औसत संक्रमण दर ५२ प्रतिशतसम्म पुगेको थियो । हाल ३६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन । ‘संक्रमण दर एक अंकमा आउन अझै समय लाग्ने देखिन्छ,’ ‘हालकै स्थिति निरन्तर रहे एक अंकमा आउन अझै ६ देखि ८ सातासम्म लाग्न सक्थ्यो ।’ पहिलो लहरमा लकडाउन खुल्नासाथ संक्रमण बढेको औंल्याउँदै उनले निषेधाज्ञा खुकुलो हुनासाथ स्वास्थ्य मापदण्डमा हेलचेक्य्राइँ हुने भएकाले संक्रमण पुनः बढ्न सक्ने जोखिम रहेको बताए ।
हाल उपत्यकाका तीनसहित १७ जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् । देशभर ५० हजार ५ सय २० जना सक्रिय संक्रमित छन । काठमाडौंमा ४ हजार ६ सय ९७, भक्तपुरमा १ हजार ९ सय २१ र ललितपुरमा २ हजार ५ सय ५८ गरी तीन जिल्लामा ९ हजार १ सय ७६ जना सक्रिय संक्रमित छन । यो देशभरिको सक्रिय संक्रमितको १८.१६ प्रतिशत हो । सबैभन्दा कम रुकुम पूर्वमा ६ जना, डोल्पामा ९ र बाजुरा ७ जना सक्रिय संक्रमित छन ।
पछिल्लो साता जटिल प्रकृतिका बिरामीको संख्यामा कमी आए पनि संक्रमण दरमा भने उल्लेख्य कमी देखिन्न । बुधबार ७ हजार ४ सय ६१ पीसीआर परीक्षण गर्दा २०.२५ प्रतिशत अर्थात् १ हजार ५ सय ११ जनामा संक्रमण देखिएको छ भने ८१ जनाको मृत्यु भएको छ । सोही अवधिमा एन्टिजेनसमेत गरी १२ हजार ४ सय १४ जनाको परीक्षणमा कुल २ हजार ४ सय २१ संक्रमित देखिएका छन ।