ललितपुर, ०८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै आइतबार बालुवाटारमा माधव नेपाल पक्षका केही नेताहरुलाई बोलाए । प्रधानमन्त्रीको निम्तोलाई स्वीकार्दै सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टलगायतका नेताहरु बालुवाटार गए ।
प्रधानमन्त्री ओलीले आफू जेठ २ मा फर्कन तयार रहेको भन्दै पार्टी एकताको प्रस्ताव राखे । तर, उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्व शर्तसमेत राखे ।
प्रधानमन्त्रीसँग छलफलमा सहभागी माधव पक्षका नेताहरुले आफ्नो समूहमा यसबारे छलफल गर्ने भनेपछि प्रधानमन्त्री ओली सकारात्मक जवाफ आउने प्रतिक्षामा थिए । तर, बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले संसद विघटन गरेकोमा आत्मालोचना गर्नुपर्ने, अन्यथा हस्ताक्षर फिर्ता नहुने माधव पक्षका नेताहरुले सोमबार जवाफ पठाएकाले अब एकताको सम्भावना लगभग टरेको छ ।
योसँगै सत्तारुढ एमालेको आन्तरिक एकता प्रक्रियाका लागि भएको प्रयास निरर्थक बन्ने संकेत देखिएका छन् । विगत दुई सातादेखि दुवै पक्षका नेताहरुबीच एकता जोगाउन भन्दै गरिएका निरन्तर वार्ता र छलफलमा समेत सहमति जुट्न नसकेपछि एकता प्रक्रिया टर्ने दिशातर्फ अघि बढेको नेताहरुले बताएका छन् ।
यद्यपि उनीहरुले एकता प्रक्रियाबाट पछि नहट्ने भन्दै छलफललाई निरन्तरता दिने दाबी भने गरि नै रहेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत बैशाख अन्तिममा भएको सहमति अनुसार बनेको दुवैतर्फका नेता सम्मिलित १० सदस्यीय कार्यदल निश्कृय भएपछि अनौपचारिक रुपमा दुवैतर्फका नेताहरुबीच एकताबारे निरन्तरजसो वार्ता र छलफल हुँदै आएका छन् । सहमतिका लागि वातावरण बनाउन भनेर गरिएका ती वार्ता र छलफल अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालले राखेका शर्तहरुमा केन्द्रित भए पनि अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन ।
असन्तुष्ट माधव नेपाल पक्षले एकताप्रति अध्यक्ष ओलीलाई नै चासो नभएको बताउँदै आएको छ । जिम्मेवारीको हिसावले पनि अध्यक्ष ओली लचक र इमान्दार हुनुपर्नेमा त्यसविपरीत ओलीको व्यवहार देखिएको माधव पक्षका नेताहरुको भनाइ छ ।
‘ओलीजी आफैं अध्यक्ष र प्रधानमन्त्री भएको हिसावले उहाँ सबैभन्दा लचिलो, जिम्मेवार र इमान्दार हुनुपर्ने हो । तर, उहाँलाई नै सकभर पार्टी एकता नभइदिए हुन्थ्यो भन्ने चाहना छ’
यता वार्तामा बस्दै आएका अध्यक्ष ओली पक्षका नेता सुवास नेम्वाङ अहिलेसम्म भएको वार्ताको प्रगति ‘निरन्तर छलफल’ बाहेक अरु केही नभएको बताउँछन् । उनको यो भनाइबाट पनि एमाले एकता प्रक्रियामा कुनै प्रगति नभएको भन्ने बझ्न सकिन्छ ।