ललितपुर, २७ जेठ । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।
तर प्रधानमन्त्री ओलीको पक्षमा उनी संसदमा विपक्षीमाथि खरो ढंगले प्रश्न उठाउँथे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग गरेका थिए ।
तर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन् । रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु मन्त्री बन्ने सम्भावना टरेको थियो । जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी मन्त्री बने ।
सञ्चारमा बादल पत्नी नैनकला
विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।
५ पुसको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खोमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए ।
२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्यूँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको संसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे ।