ललितपुर, २५ जेठ । राउटे समुदाय जो जंगलमा फिरन्ते जीवन बाँच्छ । आफूलाई जंगलको राजा ठान्छ । यो समुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । नियम र कानुन पनि आफ्नै छ ।
सिलाइएका कपडाहरु नलगाउने, फरक लवजले अरूसँग बोल्ने, आफ्नै समुदायभित्र मात्रै विवाहबारी गर्ने, एउटा व्यक्तिको मृत्यु भए अर्को ठाउँमा बसाइँ सर्ने आदि, इत्यादि आफ्नै विशेषता छ राउटे समुदायमा ।
यो समुदायले देशको संविधान चिन्दैन, कानुन मान्दैन । तर, मुखियालाई चिन्छ, मुखियाको आदेश मान्छ, उसँग आफ्नै अलिखित संविधान छ । त्यो देशको संविधान भन्दा झनै कठोर छ । त्यस्तो संविधान जसले मृत्यु दण्डको सजाय दिनपनि पछि हट्दैन । परम्परादेखि मानिआएको कानुनको पालना हुन्छ ।
राउटेको कानुन बारे जानकारहरूका लागि आइतबारदेखि एउटा ठूलो डर पैदाभएको छ । आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनाले पीडित युवतीहरु राउटे समुदायबाट नै मारिने डर छ ।
घटनाको वास्तविकता राउटे समुदायका अन्य व्यक्तिले थाहा पाए युवती आफन्तबाटै मारिन सक्ने पत्रकार नगेन्द्र उपाध्याय बताउँछन् । ‘राउटेले आफना छोरीचेली, अन्य समुदायका पुरुषसँग बोलेमात्रै पाप ठान्छ, यौन दुर्व्यवहार त उसका लागि जघन्य अपराध हो,’ उपाध्याय भन्छन् ।
विगत लामो समयदेखि राउटे समुदायको उत्थानका लागि काम गर्दै आएका उपाध्याय सामाजिक सञ्जालमा भाइरल भिडियो राउटे समुदायका व्यक्तिसम्म पुगे पीडित युवतीहरुलाई मृत्युदण्ड हुनसक्ने बताउँछन् । ‘यो घटना थाहा पाए स्वीकार्दैनन्, सजाय मुत्युदण्ड हुन सक्छ, घरेलु हतियार प्रयोर गरेर मारिहाल्छन्,’ उनले भने ।
उनले थपे, ‘ठूलो गल्ती गर्नेलाई उनीहरू स्वीकार गर्दैनन्, जसले गर्दा पीडित युवतीहरू आफ्नै समुदायबाट झनै असुरक्षित छन् ।’
उनीहरूको नियम कानुन बुझेकै कारण यौन दुर्व्यवहारको घटनाबारे राउटे समुदालाई जानकारी नदिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले बताए । ‘घटना थाहा पाउन सक्ने भएकै कारण पीडितसँग बयान लिइएको छैन, स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था पनि रहेन, अनुसन्धानमा समेत समस्या भएको छ,’ डीएसपी घर्तीले भने ।
राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पु¥याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ ।
यसअघि नै मुखियाको कारबाहीमा परेका थिए पीडित युवतीहरु
राउटे समुदायको नियम विपरीत अन्य समुदायसँग नजिक भएको भन्दै पीडित युवतीहरुलाई यसअघि नै कारबाही गरिएको थियो । अनुगमनबाट यौन हिंसामा परेका ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्दजस्तै गरी राखेको खुलेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
यौन दुर्व्यवहारको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा पीडित युवतीहरुको गोपनीयता संरक्षण, स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरिएको छ ।
राउटे समुदायका महिलाहरू प्रायः अन्य समुदायका नागरिकसँग बोलचाल गर्दैनन् । उनीहरू श्रीमान् र समुदायको डरका कारण बोल्न डराउने गरेको जानकारहरु बताउँछन् । दुवै पीडित युवतीहरू अविवाहित हुन् ।
राउटे समुदायमा प्रायः सानै उमेरमा विवाह गर्ने चलन भएपनि युवाको अभावका कारण उनीहरूको बिहे भएको छैन । दुर्व्यवहारमा परेका युवतीहरू अन्य समुदायका नागरिकसँग धेरै घुलमिल हुनेमा पर्छन् । यसअघि नै पीडितहरू युट्युब, टिकटक र सामाजिक सञ्जालमा भाइरल बनेको यज्ञ खत्रीले अनलाईनखबरमा लेखेका छन् ।