ललितपुर, २४ जेठ । नेपाली टिमले विश्वकप छनोटमै १० वर्षअघि जोर्डनविरुद्ध दुई खेल खेलेको थियो । अम्मानको ‘अवे’ खेलमा ९–० ले स्तब्ध भएको नेपालले त्यसको पाँच दिनभित्रै दशरथ रंगशालामा भएको ‘होम म्याच’ १–१ मा टुंग्याएको थियो । खराब र राम्रो नतिजाको रूपमा यी दुवै खेलको चर्चा भइरहन्छ ।
ती दुवै ‘लेग’मा गोलकिपर किरण चेम्जोङ र डिफेन्डर रोहित चन्दले पूरा समय खेलेका थिए । त्यतिबेला किरणले राष्ट्रिय टिममा खेल्न थालेको तीन वर्ष छोएको थियो भने रोहितले दुई वर्ष । तैपनि त्यो टिममा उनीहरू नयाँ खेलाडी थिए, जुनियर नै थिए । यी दुई अहिलेको नेपाली टिमका सबैभन्दा सिनियर खेलाडी हुन् । कप्तान नै हुन् किरण । क्लब फुटबल र राष्ट्रिय टिममै मिडफिल्डमा स्थापित भएर पनि आवश्यकताअनुसार अहिले सेन्टर ब्याकमै फर्किएका छन् रोहित । किरण गोलपोस्टको खम्बा भइहाले ।
एक दशकयता रोहित र किरणको खेल कौशलमा निकै परिवर्तन आएको छ, परिस्कृत भएको छ । दुवै खेलाडी करिअरकै उच्च लयमा छन् । रोहितले इन्डोनेसियाको लिग जिते भने किरणले माल्दिभ्स र भारतको लिगको ट्रफी चुमे । दुवैले राष्ट्रिय टिमसँग पनि उपाधि अनुभव गरिसकेका छन् । उनीहरूको साथमा नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी युवा टिमलाई विश्वकप २०२२÷एसियन कप २०२३ छनोटमा उत्कृष्ट नतिजा निकाल्दै नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा पु¥याउन चाहन्छन् । किरण र रोहितले यसपालि छनोटको अम्मान भेटमा जोर्डनले ३–० ले जित्दा पनि पूरा समय खेलेका थिए । अहिले त्यो टिमका ११ खेलाडीमात्रै छन ।
चाइनिज ताइपेईविरुद्ध दुई जितसँगै ६ अंक जोडेको नेपाल छनोटको समूह ‘बी’ मा चौथो स्थानमा छ । अगाडि अस्ट्रेलिया (१५), कुवेत र जोर्डन (दुवै १० अंक) छन् । यसैबाट एसियन कपको तेस्रो चरणमा प्रवेश गर्न नेपालका लागि जोर्डनविरुद्ध सोमबार हुने खेल महत्त्वपूर्ण छ । कुवेत सिटीस्थित जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा ३ अंक जोड्न सके तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बढ्नेछ भने बराबरी नतिजाले गणितीय सम्भावनामै खुम्चिने छ । त्यसैले हुनसक्छ, प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध जितकै लागि खेल्ने बताएका छन ।
समूहका शीर्ष टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणसँगै एसियन कपमा पुग्नेछन । दोस्रो हुनेमध्ये तलका चार टिम, तेस्रो हुने आठ टिम र चौथो हुनेमध्ये उत्कृष्ट चार गरी १६ टिमले एसियन कप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गर्नेछन । नेपाललाई समूहमा तेस्रो भएर सिधै एसियन कप छनोटको अर्को चरणमा पुग्ने अवसर पनि छ । त्यसको लागि जोर्डन र अस्ट्रेलियालाई पराजित गरेरमात्रै पुग्दैन, कुवेत र जोर्डनका बाँकी खेलको नतिजा पनि नेपालकै अनुकूल आउनुपर्छ । त्यसैले तेस्रो हुने नेपालको सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ ।