काठमाडौं, चैत २७ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले कोरोनाविरुद्ध लड्नका लागि राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको २५ प्रतिशत तलब कटौती गर्न सरकारसँग माग गरेका छन् । साना कर्मचारी र सुरक्षाकर्मीको तलब काट्न नहुने उनको सुझाव छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका पूर्वमन्त्री लोहनीले उच्च राजनीतिक आहोदामा बसेकाहरुको एक वर्षको तलब २५ प्रतिशत घटाउने हो भने महामारीविरुद्ध लड्न आर्थिक अभाव नहुने बताए । यसो गर्दा राष्ट्रको ढुकुटीमा अर्बौं रुपैयाँ जम्मा हुने उनको आकलन छ ।
पूर्वअर्थमन्त्री लोहनीले अनलाइनखबरसँग भने, ‘राष्ट्रपति, संवैधानिक अंगका सबै पदाधिकारीहरु र प्रधानमन्त्री, मन्त्रीदेखि सांसदसम्मको तलब र भत्ता एक वर्षको २५ प्रतिशत काटियो भने पैसाको कमी हुँदैन ।’
साथै, निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पनि महामारीविरुद्धको अभियानमा लगाउनुपर्ने डा. लोहनीको प्रस्ताव छ । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘सांसद् विकास कोषको रकम यतापट्टि लगाउनुपर्छ । सांसद विकास कोषको रकमबाटै ३र४ अर्ब आउँछ ।’
राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको तलब नकाटी साना कर्मचारी र सुरक्षाकर्मीको मात्र कटौती गर्न नमिल्ने डा. लोहनीको तर्क छ । उनी भन्छन्, ‘कर्मचारीहरुको तलब नकाट्नोस्, प्रहरीको पनि काट्नुहुँदैन ।’
पूर्वअर्थमन्त्री डा. लोहनीले विकास बजेट कसरी परिचालन गर्ने र खाद्यान्नको जोहो कसरी गर्ने भन्नेबारेमा पनि सरकारले सोच्नुपर्ने अनलाइनखबरलाई बताए ।
‘विकास बजेट त यसै पनि कामै नहुने भइहाल्यो । विकास बजेटको बजेटको पैसा केमा लगाउने, त्यसको पनि एउटा विधि बनाउनुर्पयो’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त खाद्यान्न नै हो । खाद्यान्नको बचत कति छ, के छ, यी सबै कुराहरु सरकारले हेर्नुर्पयो ।’
‘प्रधानमन्त्री राजनीतिभन्दा माथि उठ्न सक्नुहुन्न’
नेकपा नेतृत्वको सरकारले आफूले दिएका सुझाव अनुसार काम गर्नेमा विश्वस्त नरहेको डा. लोहनीले बताए । नेकपाका नेता, प्रधानमन्त्री ओली राजनीतिभन्दा माथि उठ्न नसक्ने डा. लोहनीको आरोप छ ।
डा. लोहनीले अनलाइनखबरसँग भने, ‘यसो गर्न यिनीहरु तयार हुन्छन् जस्तो लाग्दैन, किनभने सांसद विकास कोषको कुरा गर्दा त्यहाँ धेरै नेकपाका सदस्यहरु छन् । हाम्रो पैसा जाला भन्ने होला ।’
कोरोनाविरुद्ध लड्न सबैले राजनीतिभन्दा माथि उठ्नुपर्ने भएता पनि नेकपाका सांसदहरु र प्रधानमन्त्री ओली राजनीतिभन्दा माथि उठ्न नसक्ने डा. लोहनीले संशय प्रकट गरे ।
‘राजनीतिभन्दा माथि उठ्नुर्पयो, यिनीहरु राजनीतिभन्दा माथि उठ्न सक्दैनन्’ डा. लोहनीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री उठ्न सक्नुहुन्न जस्तो लाग्छ ।’