ललितपुर, १६ जेठ । देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरुबीच छलफल चलिरहेको छ । बूढानीलकण्ठमा विहान साढे ९ बजेबाट छलफल जारी छ । छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल छिन् ।
संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको बुझिएको छ । राजनीतिक रुपमा केन्द्रदेखि जिल्ला तहसम्म सरकारविरुद्ध विपक्षीले मोर्चाबन्दी कसेका छन् ।
न्यायिक रुपमा पनि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि काँग्रेस, माओवादी, माधव नेपाल पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गर्दै सरकारको सिफारिसमा गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटबारे आज पनि सर्वोच्चमा बहस छ ।