ललितपुर,८ जेठ । बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख २७ कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यस्तै वैशाख २७ गते नै कोरोना संक्रमण पुष्टि भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–६ की ५२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा जेठ ३ गते कोरोना पोजेटिभ देखिएको थियो ।
वैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का ५४ वर्षीय पुरुषको पनि नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान ३ बजे मृत्यु भएको कलेजले जनाएको छ । यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको पनि गएराति १ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
वैशाख २८ गते कोरोना पोजेटिभ देखिएका नेपालगञ्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुषको गएराति १ः१५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै बर्दियाको मधुवन नगरपालिका–७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ३ः३५ बजे भेरी अस्पतालमै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी दाङको लमही नगरपालिका–२ की ६८ वर्षीया महिलाको शनिबार बिहान ७ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका बाँकेको खजुरा गाउँपालिका–२ का ५३ वर्षीय पुरुषको शनिबार बिहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । योसँगै बाँकेमा मृत्यु हुनेको संख्या २७३ पुगेको छ ।