ललितपुर, ३ जेष्ठ । परिवारले वैशाख १५ का लागि बिहेको लगन छिने । तर बिहे हुन लागेका बुटवल–११ देवीनगरका २९ वर्षीय दीपक ज्ञवालीलाई भने १० गतेदेखि नै ज्वरो आएको थियो । नजिकको मेडिकलमा रगत जाँचपछि टाइफाइड भएको भन्दै ५ दिनलाई औषधि दिइयो ।
स्लाइन चढाइयो । उनको स्वास्थ्यमा सुधार आएन । पुनः उपचारका लागि गए पनि पूरा औषधि खाएपछि निको हुन्छ भनेर मेडिकल सञ्चालकले फर्काइदिए । उता बिहेको तयारी चल्दै थियो ।
सन्चो नभए पनि औषधिको भरमा सीमित जन्तीसहित दीपक दुलही लिन गए । गुल्मीबाट केटी पक्ष बुटवल आएका थिए । थोरै सहभागी भएर बिहे टुंग्याउने सल्लाह थियो । बुटवलकै एक होटलमा बिहे सकेर दिउँसो २ बजे दुलही लिएर फर्किए । बिहेकै साँझ बिरामले च्यापेपछि दीपकलाई उनका दाइले लुम्बिनी प्रादेशिक अस्पताल पु¥याएर पीसीआर परीक्षण गराए । अर्को दिन रिपोर्ट पोजिटिभ आयो । ‘घरमै हेरचाह गरौंला भनेर अक्सिजनसहित घर आयौं,’ उनका दाइले भने, ‘घरमा ल्याउँदा ज्वरो र खोकी थिएन ।’
भोलिपल्ट दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि दीपकलाई मेडिटेक अस्पताल पु¥याइयो । अक्सिजन लगाएर एक दिन त्यहीँ राखियो । १८ गते उनलाई धागो कारखानास्थित कोरोना विशेष अस्पताल लगियो । एक रात अक्सिजनसहित आइसोलेसनमा राखिए पनि अवस्था नसुध्रिएपछि भोलिपल्ट आईसीयूमा सारियो । १० दिनदेखि उनको आईसीयूमा उपचार चलिरहेको थियो । तर वैशाख २९ को साँझ ५ बजे एकाएक अस्पतालमा अक्सिजन सकिएको भन्दै नर्स आत्तिए । आधा घण्टासम्म अक्सिजन आपूर्ति नहुँदा आईसीयूमा रहेका ५ जनाले ज्यान गुमाए । त्यसमध्येमा दीपक पनि एक थिए ।
भाइको मृत्यु हुनुमा मेडिकल सञ्चालक र कोरोना अस्पतालको लापरबाही कारण रहेको उनका दाजुको आरोप छ । ‘आफैं व्यवस्थापन गर्नुस् भनेर पहिले नै भनेको भए खोजेर ल्याउँथ्यौं । त्यति छोटो समयमा अक्सिजन खोज्न सकिएन,’ दाइले भने, ‘सरकारले भाइको हत्या ग¥यो ।’ निमोनिया भइसकेका भाइलाई मेडिकल सञ्चालकले टाइफाइड भनेर औषधि दिँदा पनि उपचारमा विलम्ब भएको उनको भनाइ छ ।
दाजुभाइको मृत्यु
बुटवलमा गत वैशाख ११ मा दाइको छोरीको विवाहमा सहभागी भएर गुल्मी चारपालास्थित घर पुगेका ५० वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखियो । परिवारले तम्घास ल्याएर पीसीआर परीक्षण गराए । जिल्ला अस्पतालले उनको शरीरमा अक्सिजन लेभल घटिसकेकाले कोभिड अस्पताल लैजान सुझायो । बुटवलमा बेड नपाएपछि चितवनको भरतपुर पु¥याइयो । एक दिन आईसीयूमा राख्दा समस्या कम नभएपछि भेन्टिलेटरमा सारियो । उनकी आफन्तले भनिन्, ‘दुई दिन भेन्टिलेटरमा राखियो तर बचाउन सकिएन ।’
मृतकका भाइ पनि संक्रमित थिए । बुटवल–११ देवीनगरका ४५ वर्षीय उनको पनि भरतपुरमै शनिबार मृत्यु भएको छ । उनलाई गत वैशाख ९ देखि ज्वरो आउने, जीउ दुख्ने समस्या थियो । त्यसपछि स्थानीय मेडिकलबाट औषधि ल्याएर खान थाले । उनलाई मधुमेह र जन्डिस पनि थियो । उनलाई वैशाख १२ गते बुटवलको एक निजी अस्पताल लगियो । चिकित्सकले अक्सिजनसहितको अस्पताल रेफर गरे तर पीसीआर रिपोर्टबिना अस्पतालले भर्ना लिन मानेन । परिवारले त्यही रात लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गराउँदा कोरोना देखियो । उनी सिकिस्त हुँदै गए ।
चिकित्सकले तत्काल आईसीयू चाहिने बताए । दुई दिनसम्म पर्खिंदा पनि बेड खाली भएन । त्यसपछि उनलाई भरतपुर लगियो । आफन्तका अनुसार भरतपुरमा आईसीयूमा राख्दाराख्दै किड्नी खराब भएको चिकित्सकले बताए ।’ दुई दिन आईसीयूमा राखेर भेन्टिलेटरमा सारिएका उनको गत शनिबार मृत्यु भएको कान्तिपुरले लेखेको छ ।