बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयू शय्यामा एक अधबैंसे महिला आलाप–विलाप गरिरहेकी थिइन् । आईसीयू मनिटरको चर्को आवाजले बोली प्रष्ट नसुनिए पनि ‘मेरो मुटुको टुक्रा‘मेरो मुटुको टुक्रा‘’ भनेको विरक्त चिच्याहट बाहिरसम्म सुनिइरहेको थियो ।
उनी बोलिरहँदा बेडमा रहेका अन्दाजी बीस–पच्चीस वर्षका युवाको शरीर अनियन्त्रित थियो । अक्सिजन सपोर्टमा छट्पटाइरहेका ती युवा आफ्नो भएभरको शक्ति खर्चेर बाँच्नको लागि संघर्ष गरिरहेका थिए । रातो कुर्ता सलवारमा भएकी ती महिलाको भावभंगीले ठूलो संकट बोलिरहेको थियो । शायद उनी आमा थिइन् ।
यो बाँकेस्थित भेरी अञ्चल अस्पतालको आईसीयूमा शनिबार देखिएको दृश्य हो । १८ जना गम्भीर किसिमका कोरोना संक्रमित राखिएको उक्त आईसीयू वार्डमा शनिबार मात्रै चार संक्रमितको मृत्यु भयो । सोही अस्पतालका अन्य वार्डमा गरेर गएको दुई दिनमै त्यहाँ १२ जना संक्रमितले ज्यान गुमाए ।
यो तथ्यांक जस्तै डरलाग्दो दृश्य अस्पतालमा जताततै देखिइरहेको थियो । उक्त अस्पतालको आईसीयू वार्डमा हरेक बेडमा एक जना कुरुवा छन्, कोही संक्रमितलाई घोप्टो पारेर ढाडमा थपथपाइरहेका छन् भने कोही पंखाले हम्किइरहेका छन् । कोही रक्त सञ्चार अवरुद्ध नहोस् भनेर मालिस गरिरहेका छन् भने कोही बिरामीको होश नगुमोस् भनेर झकझक्याइरहेका छन् ।
अक्सिजन मनिटरको चर्को आवाज, संक्रमित र कुरुवाको अत्यासलाग्दो चीत्कार, बेडबाटै भुर्इंमा खसौंला झैं लाग्ने संक्रमितको अनियन्त्रित छट्पटाहट । बाँके जिल्लाको कोरोना महामारीको अवस्था बोल्ने दृश्यहरू थिए, ती ।
त्यतिमात्र कहाँ हो र ?
आईसीयू वार्डभित्र जस्तै अक्सिजन कम भएर बाहिर पनि संक्रमितहरू छट्पटाइरहेका थिए । संक्रमितका आफन्तहरू ‘भित्र बेड खाली होला कि’ भन्ने प्रतीक्षामा थिए । त्यो प्रतीक्षाको लाइन छिनमै लामो हुन्थ्यो । त्यहाँ कार्यरत चिकित्सकले अक्सिजन विना बाँच्न नसक्ने संक्रमितलाई अन्य वार्डमा भए पनि अक्सिजनको सहारा दिएर भित्र राख्थे भने केही संक्रमितलाई ‘अवस्था नाजुक भइनसकेको’ भन्दै फर्काउन लाचार हुन्थे ।
त्यहीबेला एकै पटक तीन जना संक्रमितलाई सास फेर्न गाह्रो भएको भन्दै ल्याइयो । तीनमध्ये दुई पुरुष क्रमशः ६५ र ५५ वर्षका थिए भने एक महिला ३५ वर्षकी थिइन् । संक्रमितका आफन्तका अनुसार उनीहरूको अक्सिजनको लेभल ८५ भन्दा तल थियो ।
ट्रलीमा हालेका उनीहरू बोल्न सक्ने अवस्थामा थिएनन् तर केही इशारा गरेर छट्पटाइरहेका थिए । उनीहरूको इशारा नबुझेर हैरान बनेका आफन्तहरू अस्पतालमा बेड नपाएर झन् विक्षिप्त थिए ।
आमाको लागि आईसीयू बेडको प्रतीक्षामा रहेका १८ वर्षीय छोराले फोनमा कसैलाई भने, ‘आमा छट्पटाएर मर्न लागिसक्नुभो, यहाँ अस्पतालमा बेड छैन रहेछ, छट्पटाएरै सास जान्छ कि जस्तो छ ।’
त्यही बेला त्यहाँ आइपुगेका ड्युटी डाक्टरलाई उनले समस्या सुनाए । ‘सिकिस्त बिरामीलाई आईसीयूबाट झिकेर मर्न दिनुभएन, समस्या बुझ्नु न । बरु पल्लो वार्डमा लैजानुस्, त्यहाँ केही व्यवस्थापन होला कि’ डाक्टरको जवाफ थियो ।
त्यता बेड नपाएर यता आएका उनी किन मान्थे र ? उनीहरूले डाक्टरलाई हात जोड्दै रुञ्चे स्वरमा भने, ‘प्लिज केही उपाय गरेर हाम्रो मान्छे बचाइदिनुस् !’
ड्युटी डाक्टर दुवै हातले टाउको (पुर्पुरो) ठोक्दै भित्र पसे । डाक्टरको त्यो हाउभाउमा निराशा र लाचारी प्रष्ट देखिन्थ्यो भने संक्रमितका आफन्तहरू झन् बिचरा देखिएका थिए ।
त्यही बेला संक्रमितको छट्पटाहट झन् अनियन्त्रित भयो । बिरामी लिएर आएका कुरुवाहरूसँग अत्तालिनु र सम्हालिनु बाहेक अर्को विकल्प थिएन । अस्पतालको भयावह अवस्थाले उनीहरू मृत्यु स्वीकार्ने पक्षमा पुगिसकेका थिए । त्यहीमध्येका एक आफन्तले भने, ‘हाम्रो त शासकै शत्रु भए, देशमा यस्तो भयावह अवस्था हुँदा कसैलाई मतलब छैन ।’
सास फेर्न गाह्रो भएर अस्पताल ल्याएका बुवाको लागि बेड नपाउँदा आक्रोशित भएका उनी अक्सिजन सहितको बेडमा भर्ना पाएका संक्रमितले डाक्टर र नर्सको सेवा नपाएको देखेर झन् विक्षिप्त भएका थिए । लामो सुस्केरा हाल्दै भने, ‘यो हदसम्मको भयावह होला भन्ने त कल्पनै थिएन !’
त्यही बेला ड्युटी डाक्टर आएर भने, ‘अक्सिजन सिलिण्डरको व्यवस्था गरेका छौं, बेड खाली छैन, भुईमा राख्नुपर्छ ।’
संक्रमितका आफन्तले डाक्टरको जयजयकार गर्दै बिरामीलाई भित्र लगे ।
१४२ जना कोभिड बिरामी राख्ने क्षमता भएको उक्त अस्पतालमा २०० भन्दा बढी संक्रमित नाघिसकेका छन् । कोरोनाको लागि बाहेक अन्य रोगको उपचारको लागि छुट्याइएका वार्डहरूमा अक्सिजन जडान गरेर संक्रमितको उपचार गरिएको छ । सास फेर्न गाह्रो भएर अक्सिजन जडान गरेका सबै संक्रमितले नर्स र डाक्टरको सेवा पाउने अवस्था छैन । सुस्केरा हाल्दै ‘भगवान भरोसा‘’ भनिरहेका छन् संक्रमितका आफन्त ।
आईसीयू वार्ड बाहिर ४१ वर्षीय सन्तोष ओली भेटिए । उनकी ३४ वर्षीया श्रीमती सिकिस्त भएर आईसीयू वार्डमा उपचाररत छिन् । सन्तोषका अनुसार आमासँगै आईसीयूमा भर्ना भएकी २१ वर्षकी छोरीको यही अस्पतालमा ६ दिन अगाडि संक्रमणकै कारण मृत्यु भयो । हामीसँग कुराकानी गर्दागर्दै ‘छोरीले तीन महिने छोरीलाई’ (सन्तोषकी नातिनी) एक्लै छाडेर गई भन्दै सन्तोष भक्कानिएका थिए । आईसीयू वार्डमा छोरीले छट्पटाउँदै प्राण त्यागेको देख्दादेख्दै केही गर्न नसकेको सुनाउँदै उनी भन्छन्, ‘यहाँ आएको दिनदेखि मैले दिनकै छट्पटाउँदै मानिस मरेको देखेको छु ।’
२१ वर्षकी छोरीको मृत्यु सहेर संक्रमित श्रीमतीको कुरुवा बसेका उनी विक्षिप्त छन् । छोरीले छट्पटाउँदै अन्तिम सास फेरेको देखेका उनकी श्रीमती पनि आईसीयूमै अर्धचेत अवस्थामा छिन् । ‘आमाको अगाडि छोरी छट्पटाउँदै मर्दा कति दर्द भयो होला ? म छोरी मरेको बेड हेर्न सक्दिनँ भन्दै भक्कानो छाडेर रुन्छे’ श्रीमतीको अवस्था बताउँदै सन्तोष भन्छन्, ‘डाक्टरले त श्रीमतीलाई भन्दा योङ छोरीलाई बचाउन सजिलो हुन्छ भन्थे ।’
सन्तोष मनको वह पोख्दा पोख्दै आफैंलाई जवाफ दिन्छन्, ‘मेरो जस्तो एकै परिवारका संक्रमित र मृत्यु हुने त धेरै पो छन् हौ !’ उनले यसरी नै आफ्नो मन बुझाएका छन्, तर आईसीयूमा संक्रमित भएर छट्पटाइरहेकी श्रीमतीलाई बुझाउन नसक्दा हैरान भएको सुनाउँछन् ।
भेरी अस्पतालका चिकित्सक डाक्टर पाण्डेका अनुसार अस्पतालमा ३९ जना नर्स छन्, जसमध्ये एक दर्जन जति संक्रमित भइसकेका छन् । बाँकी नर्सले तीन सिफ्टमा भाग लगाएर २०० भन्दा संक्रमितको उपचार धानिरहेका छन् । त्यति धेरै क्रिटिकल बिरामी धान्ने एनेस्थेसियाका कर्मचारी एक जना मात्रै छन् । आईसीयूमा राखिएका जटिल किसिमका संक्रमितलाई यति थोरै जनशक्तिले उपचार गर्न असम्भव रहेको अस्पतालका चिकित्सकहरू बताएको अनलाईनखबरले लेखेको छ ।