ललितपुर, ११ चैत । विराटनगरबाट भारत जाने मूल नाका जोगवनी सुनसान छ । सरकारले रानी नाका गत वर्षको चैतदेखि नै सिल गरेको छ । तर चोरबाटो हुँदै भारत आउजाउ गर्नेको घुइँचो लाग्ने गरेको छ । कोरोना संक्रमणबाट जोगिन आउजाउ गर्नेले मास्कसमेत लगाएको देखिँदैन ।
विराटनगर–१६ स्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैया र वडा १५ स्थित इस्लामपुरबाट आउजाउ गर्नेको संख्या अधिक छ । मूल भन्सार नाकाबाट भारततर्फ जान खोज्नेलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै चोरबाटोबाट जान बाटो देखाइदिने गरेको स्थानीयको आरोप छ । विराटनगर–१६ का बुद्ध तामाङले विराटनगर जुट मिलको दक्षिण गेटबाट बिहान ५ बजेदेखि राति ८ बजेसम्मै भारत जाने र आउनेको भीड लाग्ने गरेको बताए ।
‘भारतमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला सुरक्षाकर्मीकै अगाडिबाट बिनारोकतोक आवतजावत भइरहेकाले जोखिम बढेको छ,’ उनले भने, ‘अनधिकृत रूपमा भइरहेको आवतजावतलाई सरकारले तत्काल रोक्नुपर्छ ।’ विराटनगर–१५ इस्लामपुरका मो. मनसुरले दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगवनी जाने, आउनेको पनि दैनिक भीड लाग्ने गरेको बताए ।
मोरङस्थित छोटी नाकाहरूको अवस्था पनि उस्तै छ । तरिगामा, सिक्टी, रंगेली लगायतका नाकाबाट भारततर्फ बिनारोकतोक आउजाउ भइरहेको स्थानीय बताउँछन । सिक्टीका मो. सदरुलले सिक्टीमा भारत र नेपालको बजार जोडिएकाले को भारतीय को नेपाली छुट्याउनसमेत गाह्रो रहेकाले कोरोना संक्रमणको जोखिम बढेको गुनासो पोखे ।
‘सिक्टीमा सीमावर्ती भारतीय गाउँका मानिस नेपालतर्फ र नेपालीहरू भारततर्फ डुल्न जान्छन्,’ उनले भने, ‘त्यसले संक्रमणको जोखिम झन् बढाएको छ ।’ रानी नाकास्थित हेल्थ डेस्कमा खटिएकी अनमी उषा मेहताले भारतबाट आउनेलाई ज्वरो नाप्नुका साथै स्वास्थ्य जाँच गर्ने गरेको बताइन् । उनले भारतबाट दैनिक २५÷३० जना आउने गरेको सुनाइन् । उनका अनुसार एन्टिजेन परीक्षणको व्यवस्था भने हाल छैन ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लामा हालसम्म कुनै नाका खुला नगरिएको र रानी नाकाबाट विद्यार्थी र बिरामी आउने, जाने गरेको बताए । भारतबाट आउनेलाई रानी नाकास्थित हेल्थ डेस्कमा स्वास्थ्य जाँच भएपछि मात्रै नेपालतर्फ प्रवेश गर्न दिइएको उनको भनाइ छ । भारतबाट आउने शंकास्पद बिरामीलाई एन्टिजेन परीक्षण गरेरमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको उनले बताए ।
चोरबाटोबाट भइरहेको अनियन्त्रित अवागमनलाई कडाइका साथ नियन्त्रण गरिने निरौलाको भनाइ छ । ‘भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकाले यहाँ पनि संक्रमणको जोखिम बढाएकोले चाँडै सीसीएमसीको बैठक बसेर आवश्यक निर्णय गर्ने तयारीमा छौं,’ उनले भने, ‘तत्काल एउटा क्वारेन्टाइन व्यवस्थित गरेर राख्ने तयारी थालेको कान्तिपुरले लेखेको छ ।