ललितपुर, ०९ फागुन । ललितपुर प्रहरीले ३० लाख नगदसहित १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको छ ।
उनीहरुलाई ललितपुर महानगरपालिका–२६ स्थित अजय महर्जनको घरको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर जावलाखेलको टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पोषणराज थपलिया र सुरेशराज भट्टको कमाण्डमा खटिएको ३५ जनाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, सानुकान्छा महर्जन, पुर्ण श्रेष्ठ, विनोद प्रसाद घिमिरे, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन, चिरीकाजी महर्जनलगायत छन् ।
उनीहरुको साथमा ३० लाख ८४ हजार ४ सय रुपैयाँ रकम बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरु बारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलले बताएको छ ।
जुवा ऐन, २०२० दफा ४ अनुसार पहिलोपटकलाई सामान्य जरिवाना, दोस्रो पटकलाई एक महिना देखि तीन महिनासम्म कैद र तेस्रो पटक देखिकोलाई १ वर्ष कैद हुने व्यवस्था छ ।
र याे पनि हेराै