बैतडी, ०२ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जंगलमा भागरथीको शव फेला परेको थियो ।
१० दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । अनुसन्धानकै क्रममा रहेको बताइरहेको छ । दोषी पत्ता लाग्छ भन्ने कुरामा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको आग्रह छ । तर, कहिलेसम्म पत्ता लाग्ने भन्ने कुरा खुलाउन चाहेका छैनन् । उनले भने, ‘‘हिजोअस्तिको भन्दा अनुसन्धान साँघुरिँदै गएको छ । छिट्टै दोषी पत्ता लाग्छ ।’’
‘‘घटनाको बृहत् र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौँ,’’ उनले भने, ‘‘विभिन्न कोणबाट अध्ययन र अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौँ ।’’ घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
भागरथीले प्रयोग गरेको मोबाइललगायतका प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘‘अनुसन्धान साँघुरिँदै गएको छ । हामी छिट्टै अपराधीलाई सार्वजनिक गर्छौँ ।’’
घटना भएको १० दिन भएको भए पनि अझै भागरथीको अन्तिम दाहसंस्कार हुन सकेको छैन । भागरथीका आफन्तले हत्याराका पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । परीक्षण सम्पन्न भएको भए पनि शव अझै जिल्ला अस्पतालमै रहेको छ । आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ । अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए ।
घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण संकलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन् । उनले भने, ‘‘आवश्यक प्रमाण सबै संकलन भइसकेको छ । शव सुरक्षित राख्न निकै समस्या छ ।’’ घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।
दोषी पत्ता नलागेको भन्दै यता शान्तिपूर्ण रूपमा आन्दोलन पनि जारी रहेको छ । शनिबार जिल्ला प्रशासन कार्यालयअगाडि घण्टा बजाएर प्रदर्शन गरिएको छ । अपराधी यथाशीघ्र पत्ता लगाई कानुनी कारबाहीको माग गर्दै शान्तिपूर्ण रूपमा आन्दोलनका कार्यक्रम भइरहेको भागरथी भट्टको न्यायका लागि गठित संघर्ष समितिका सदस्य महेश दत्त भट्टले बताए । यसअघि, माघ २६ गते दीप प्रज्ज्वलन, २७ गते सिट्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, माघ ३० गते थाल ठट्याइएको थियो ।
घटना भएको दुई दिनसम्म चक्काजामलगायत विरोध प्रदर्शन गरिएको भए पनि प्रहरीले केही दिन आन्दोलन स्थगन गर्न आग्रह गरेअनुसार शान्तिपूर्ण रूपमा प्रदर्शन भइरहेका हुन् । अनुसन्धान गर्न समस्या हुने भन्दै प्रहरीले आन्दोलनमा कार्यक्रम नगर्न आग्रह गरेको थियो । रासस
र याे पनि हेराैं