ललितपुर फागुन १२। शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृति पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई आदेखि मुसा वर्ष शुरु हुँदैछ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्पो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
सो पर्वका उपलक्ष्यमा अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै नेपाली समाज बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएकाले अनेक जातीय समुदायसँगको सामिप्यता र सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता हो भनेका छन् । “देशको यही विविधताभित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान हो । यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।” सन्देशमा भनिएको छ ।