एजेन्सी, १६ माघ । कोरोना भाइरसको पहिलो चरणभन्दा दोस्रोमा संक्रमण ज्यादा बढेपछि युरोपेली देशहरुले झन् कडा लकडाउन गरेका छन् । सन् २०२१ को सुरुवातदेखि विभिन्न देशहरुले कर्फ्यु, लकडाउन, संक्रमण र मृत्युका नयाँ आयामसित लड्न झन कडा उपायहरू सुरु गरेका हुन् ।
फ्रान्समा डिसेम्बरबाट साँझ ८ बजेदेखिको कर्फ्यु समय बढाएर साँझ ६ बजेदेखि नै लागू गरियो । यो समयमा पसल र अन्य व्यवसाय बन्द गरिएको छ । भाइरस परीक्षणको दायरा फराकिलो पारेर अवस्था हेरी केही ठाउँमा विद्यालय खुला गरिएका छन् । बार, रेस्टुरेन्ट, थिएटर, सिनेमाघर र स्की–रिसोर्ट सबै बन्द छन् ।
युरोपेली युनियन (ईयू) बाहिरबाट आउने जो–कोहीले पनि फ्रान्समा ७२ घण्टाभित्र भाइरसको परीक्षण गरी एक साता एकान्तबास बस्नैपर्छ । ७ दिनपछि फेरि कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट भए मात्रै गन्तव्यमा जान पाइन्छ । जर्मनीमा १६ डिसेम्बरसम्मको लकडाउनलाई परिमार्जित गरी फेब्रुअरी १४ सम्म बढाइएको छ ।
अत्यावश्यकबाहेकका अन्य पसल, हजाम, पार्लर, रेस्टुरेन्ट, बार, मनोरञ्जन केन्द्र तथा विद्यालयहरु सबै बन्द छन् । जर्मनीमा संक्रमण दरमा आएको कमीका बाबजुद अवस्था थप बिग्रन नदिन थप कडाइ गरिएको अधिकारीहरुको भनाइ छ । पछिल्ला सातामा जर्मनीमा प्रत्येक दिन एक हजारका दरमा संक्रमितको मृत्यु भइरहेको छ ।
लकडाउनसहित कडाइका सर्तहरु कम्तीमा फेब्रुअरी अन्त्यसम्म रहिरहनुपर्ने जर्मन अधिकारीहरुको भनाइ छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा फेला परेको नयाँ प्रजातिको कोरोना भाइरसको खतरा बढेकाले कडाइको सुरक्षा स्थिति अपनाउनुपरेको जर्मनीको सरुवा रोग नियन्त्रण एजेन्सीले जनाएको छ ।
थप लकडाउनसँगै कर्फ्यु र सार्वजनिक यातायातको आंशिक सटडाउनजस्ता प्रतिबन्ध थप कडा पारिएको छ । कोरोनाको पहिलो संक्रमणकालमा युरोपमा सबैभन्दा बढी क्षति व्यहोरेको इटालीले राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि देशव्यापी कर्फ्यु जारी गरेको छ । इटालीमा उच्च जोखिमपूर्ण ठानिएका २० वटा क्षेत्रमा यात्रा गर्न फेब्रुअरीसम्म पूर्ण प्रतिबन्ध लगाइएको छ । ‘घरभित्र र बाहिर’ समेत मास्क अनिवार्य छ ।
इटालीका लोम्बार्डीलगायत तीन क्षेत्रलाई ‘रेड जोन’ मा राखेर उच्च सतर्कता अपनाइएको छ । त्यहाँ अत्यावश्यक वस्तुका पसलबाहेक सबै बन्द छन् । होटल, रेस्टुरेन्ट, हजाम, खेलकुदलगायत पसल र सार्वजनिक कार्यक्रममाथि पूर्ण बन्देज गरिएको छ ।
स्पेनमा त झन् मे महिनाको सुरुसम्मै कर्फ्यु घोषणा गरिएको छ । सार्वजनिक यातायात तथा अधिकांश सार्वजनिक स्थलहरुमा मास्क लगाउने नियम बाध्यकारी बनाइएको छ ।
बेल्जियमले शनिबारदेखि बाध्यकारीबाहेक सबै यात्रामाथि प्रतिबन्ध लगाएको छ । बेल्जियमभर १ सय जनाभन्दा बढीमा बेलायतबाट फैलिएको नयाँ प्रकारको कोरोना भेटिएको एक अध्ययनको निष्कर्षपछि यात्रामा प्रतिबन्ध लगाएको हो । यो भाइरस निकै तीव्र रूपमा फैलिइसकेको हुन सक्ने सम्भावना भएको विज्ञहरुको सुझावपछि सरकारले यस्तो निर्णय गरेको हो ।
बाध्यकारी भ्रमण गर्नेहरुले पनि भाइरस परीक्षण नेगेटिभ भएको रिपोर्ट पासपोर्टमै टाँसेर हिँड्नुपर्ने र त्यसो नगरेमा २ सय ५० युरो जरिवाना गरिने सरकारले जनाएको छ ।
बेल्जियममा यस्तो निर्णय आगामी मार्च १ सम्मका लागि गरिएको हो । यो नियम अन्य देशबाट बेल्जियम आउन चाहने र बेल्जियमबाट अन्य देश यात्रा गर्न चाहने दुवैमा लागू हुने गृहमन्त्री एनेलिस भेर्लिन्डनले जनाएकी छन् । घरमा अधिकतम एक व्यक्तिलाई मात्रै भेट्न जाने अनुमति दिइनुका साथै चार जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।
र याे पनि हेराै