ललितपुर, १३ माघ । सरकारले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने तयारीमा छ । प्रदेश सरकारहरूले सोमबार नै केही जिल्लामा खोप पु¥याइसकेका छन । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणमा जिल्ला अस्पताल र ठूला अस्पतालमा अग्रपंक्तिमा बसेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई निःशुल्क रूपमा लगाउने प्रदेश सरकारको तयारी छ ।
प्रदेश १ का लागि ९६ हजार खोप सोमबार विराटनगर पुगेको छ । विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको खोप १४ वटै जिल्लामा मंगलबारसम्म पु¥याइसक्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
‘खोप लगाउनेको सूचीकरण स्थानीय तहले गरिसकेका छन्,’ ‘पहिलो पटक खोप लगाएका व्यक्तिले १ महिनापछि पुनः लगाउनुपर्छ ।’ बाँकी खोप कसलाई लगाउने भन्नेबारे प्रदेश सरकारले नीति बनाइसकेको छैन । पहिलो चरणमा ७१ हजार १ सय ५२ खोप आवश्यक रहेको छ ।
प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले बुधबार ८ वटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट खोप अभियान सुरु गर्ने निर्णय गरेको छ । प्रदेश २ ले १ लाख ८० हजार खोप माग गरे पनि पहिलो चरणमा ३४ हजार प्राप्त भएको छ ।
प्रदेशभर ९ वटा बुथ राखेर खोप दिइने योजना छ । जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई नै खोप लगाउन परिचालन गरिने डा. प्रमोद यादवले बताए । उनका अनुसार पहिलो चरणमा ३३ हजार ६ सय स्वास्थ्यकर्मी र १ हजार २ सय ४ सरसफाइकर्मीलाई खोप लगाइनेछ ।
पहिला चरणमा कुन प्रदेशमा कति?
प्रदेश १ |
९६ हजार |
प्रदेश २ |
३४ हजार |
वाग्मती |
७६ हजार |
गण्डकी |
४० हजार |
लुम्बिनी |
८८ हजार |
कणाली |
१२ हजार |
सुदूरपश्चिम |
१६ हजार |
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा उपलब्ध गराएको ७ हजार ६ सय भाइल खोप वाग्मतीको हेटौंडा पुगेको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत हेटौंडा–१ मा रहेको प्रदेश आपूर्ति केन्द्रमा खोप भण्डारण गरिएको छ ।
‘प्रदेशका १३ वटै जिल्लामा एकैपटक खोप लगाउने तयारी छ,’ मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले भने, ‘प्रदेश सरकार मातहत रहेका जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप लगाइनेछ ।’ खोप केन्द्र तोक्न र स्वास्थ्यकर्मी परिचालनका लागि मन्त्रालयका सचिव दीपक काफ्लेको संयोजकत्वमा समिति बनाइएको छ । एउटा स्वास्थ्य केन्द्रमा १० देखि २० जनासम्म स्वास्थ्यकर्मी परिचालन गरिनेछ । वाग्मती प्रदेशभर ६६ हजार ४ सय ८१ जनालाई पहिलो डोजको खोप लगाइनेछ ।
हेटौंडामा प्राप्त भएको खोप वाग्मतीका मकवानपुर, चितवन र सिन्धुली तथा प्रदेश २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीलाई उपलब्ध गराइनेछ । ‘प्रदेश २ मा भण्डारण नभएका जिल्लामा हेटौंडाबाटै खोप उपलब्ध गराइने हो,’ प्रवक्ता सेढाईंले भने, ‘वाग्मतीका बाँकी १० जिल्लालाई संघीय सरकारबाटै उपलब्ध गराइनेछ ।’
मन्त्रालयका अनुसार रामेछापमा १ हजार ४ सय १६, सिन्धुलीमा १ हजार ४ सय ८०, ललितपुरमा ७ हजार ८ सय १२, रसुवामा ७ सय ५७, चितवनमा ३ हजार ७ सय ४१, काभ्रेमा ३ हजार ६ सय ३८, नुवाकोटमा २ हजार ४ सय, दोलखामा २ हजार १ सय ४२, भक्तपुरमा ३ हजार ८ सय ४५, सिन्धुपाल्चोकमा १ हजार ७ सय ७३, धादिङमा १ हजार ५ सय ९, मकवानपुरमा २ हजार २ सय ८९ जनालाई पहिलो चरणको खोप दिइनेछ ।
गण्डकी प्रदेशका ४ जिल्लाका लागि ४० हजार डोज कोभिसिल्ड खोप पोखरा पुगेको छ । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा सोमबार पहिलो चरणमा ५० प्रतिशत खोप पठाइएको छ ।
स्याङ्जामा ३ हजार ४ सय २१, पर्वतमा २ हजार ७ सय ५१, बागलुङमा ३ हजार ९ सय ३१ र म्याग्दीमा १ हजार ८ सय ७१ खोप पठाइएको छ । कास्कीमा सबैभन्दा बढी १२ हजार ५ सय ९०, गोरखामा ४ हजार २ सय १४, तनहुँमा ३ हजार ७ सय २२, लमजुङमा ३ हजार ५ सय १२, पूर्वी नवलपरासीमा २ हजार ३ सय ३५, मुस्ताङमा ४ सय ८६ र मनाङमा सबैभन्दा कम ४ सय ५७ डोज खोप पठाइने खड्काले बताए । केन्द्रको कोल्ड स्टोरमा राखिएको खोपलाई सम्बन्धित जिल्लाको नियमित भण्डारणमा राखिने गरी पठाइएको हो ।
गण्डकीमा पहिलो चरणमा अग्रपंक्तिमा रहेका १७ हजार ३ सय ९६ जनालाई खोप लगाइनेछ । बुधबार बिहान १० बजे प्रत्येक जिल्लाका कम्तीमा एउटा अस्पतालबाट खोप लगाउन सुरु हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए । पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मनिपाल, गण्डकी शिक्षण र प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालबाट खोप वितरण हुनेछ ।
तालिम लिइसकेका १० प्रशिक्षकले जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिने र खोप चिकित्सकको निगरानीमा लगाइने उनले बताए । खोप कार्यक्रमका लागि प्रदेशका प्रमुख सचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ । खोप शरीरमा एलर्जी भएका, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कमका व्यक्तिलाई लगाइँदैन । कान्तिपुरबाट साभार
र याे पनि हेराै