देशहरु किन असफल हुन्छन् भन्ने बारे प्रसिद्ध अर्थशास्त्री डारोन असेमुगलुको एउटा पुस्तक छ, ‘ह्वाइ नेसन्स् फेल’ ।
‘देशहरु असफल हुनाको एउटा मुख्य कारण छ’ पुस्तकमा उनले लेखेका छन्, ‘त्यो के भने यस्ता देशमा संस्थाहरु भ्रष्ट छन् ।’
असेमुगलुको यो निश्कर्ष निकालेर हेर्दा हाम्रा सरकारी र सार्वजनिक निकायहरुमा हुने भ्रष्टाचारको बढ्दो पारोले देश कतै असफलताको बाटोमा त अघि बढिरहेको छैन भन्ने प्रश्न गर्न जो कोही वाध्य छ । र, यस्तो बढ्दो प्रश्नले आम निरासाको स्थिति उत्पन्न गराइरहेको छ ।
हरेक कालो बादलमा आसाको एउटा चम्किलो घेरा पनि हुन्छ भनेजस्तो यस्तो विकरलाल माहोलमा केही मानिसहरुको सतप्रयासले थोरै आसा पनि पलाइरहेको छ । गंगालालजस्तो अस्पताल स्थापना गर्ने डा. भगवान कोइराला, सबभन्दा सस्तो विश्वगुणस्तरीय आँखाको लेन्स उत्पादन गरेर विश्वमै सेवा पु¥याउने डा. सन्दुक रुइत, दसकौंदेखिको अन्धकारलाई एक झमटमै हटाइदिने कुशल व्यवस्थापक कुलमान घिसिङजस्ता केही मानिस छन् जसले भत्किएको पद्दती र व्यवस्थालाई सुधार्न सम्भव छ भन्ने सन्देश दिएका छन् । असेमुगुलु त्यस्ता मानिसलाई महान मान्छन् जसले पद्दती र संस्थाहरु निर्माण गर्छन् । हाम्रो सन्दर्भमा डा. कोइराला, रुइत र कुलमानहरु त्यस्तै मानिस हन् ।
पछिल्लो समय यस्तै एउटा प्रवल उत्साह फैलाउन सफल भएको छ नेपाली सेनाले । त्यहाँको व्यथिति, जडता र भ्रष्ट मानसिकतालाई रणभूमिमा सत्रुको गर्धन छिनालेझैं छिनाल्ने काम गरेका छन् प्रधानसेनापति पूर्णचन्द्र थापाले । उनी नेपालको पहिलो प्रधानसेनापति हुन् जसले पदभार सम्हालेकै भोलिपल्ट आफ्नो सम्पति सार्वजनिक गरे । एउटा नैतिक साहस नभएको मान्छेले यो कदापि गर्न सक्दैन । सैनिक वर्दिको दुरुपयोग गरेर अर्बाैं कमाएका जर्सावहरुको मुटुले ढ्ंयाङ्ग्रो ठोकेको हुनु पर्छ उनको यही एक सानो काम देखेरै ।
आफ्नो सम्पत्ति सार्वजनिक गर्दै उनले सुधारको विगुल फुकेका थिए र प्रधान सेनापतिको हैसियतले आफ्नो पहिलो सम्बोधनमै नेपाली सेनाभित्रका सबै विकृति हटाउने कुरो गरेका थिए । उनको त्यो भनाइ वितेका १८ महिनामा व्यवहारले पुष्टि गर्दै आएका छन् ।
‘नेपाली सेनाले इतिहासमै यस्तो निष्ठापूर्ण नेतृत्व पाएको थिएन’ उनका सुधारवादी कामले मखलेल एक जर्नेल भन्छन्, ‘संगठनलाई भ्रष्टाचारमुक्त बनाउने उहाँका काम साहसिक र सराहनीय छन् ।’
शान्ति सेनामा कोटा प्रणालीको अन्त्य गर्ने, जवानहरुको अवास भटाभट बनाउने, सरुवा बढुवामा भनसुनको जालिएको जरालाई निर्मलु पार्ने कामले सेनाको संगठनभित्र नयाँ उत्साह ल्याएको तल्लो तहका सैनिकहरु बताउँछन् ।
‘अहिले राशन पानीको गुणस्तरमा समेत सुधार भएको छ’ एक सैनिक भन्छन्, ‘किनभने, यसबाट भ्रष्टाचार गर्नेहरुको मुटु चिसफसप आएपछि काँपेको छ ।’
सेनामा सानतिनो नेतृत्वमा पनि प्रायः अधिकृतलाई खटाइने चलन पनि थापाले तोडेका छन् । परिणामतः पदिक र बिल्लादारहरुले गुमाएको जिम्मेवारीबोध फेरि फिर्ता भएको छ । यसले जसले सैनिक नेतृत्वमा दुरगामी प्रभाव पार्नेछ ।
सैनिक बलियो हुनु भनेकै तल्लो तहका सेना सन्तुष्ट र उत्साहित हुनु हो । यस तथ्यलाई प्रधानसेनापतिले राम्ररी बुझेका हुनाले नै तिनको विचार तथा अनभुव आफैंंले प्रत्यक्षतः सुन्ने कामको उनले सुरुवात गरे । लिडरसिप डाइलग, नो योर आर्मी, टाउन हल, सिपाहीसंग प्रधान सेनापति लगायतका सिर्जनात्मक संवाद सुरु गर्ने कामले सेनालाई बढी लोकतान्त्रिक र पारदर्शी बनाएको छ । आर्थिक अनुशासन कायम राख्न सेनापतिबाट भएका कारबाही, छानबिन, निर्देशन, अनगुमन र उनको निर्भिक अभिव्यक्तीले धेरै ठूलो सुधार भएको देखिन्छ ।
“अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?” भन्ने नारा अख्तियार गरेर प्रधान सेनापतिले हरेक सैनिकको सुस्ताएको मुटुमा उत्साहको रक्तसञ्चार गराउने काम थालेका छन् ।
‘नेतृत्व तह ठीक नभएसम्म अरु ठीक हुँदैन्’ भन्दै थापाले सुरु गरेको ‘नेतृत्व संवाद २०७५’ ले आर्थिक अनियमितता र भ्रष्टाचारको गरै उखेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अख्तियारको क्षेत्राधिकारमा नपर्ने हुनाले सेनाभित्र भएको भ्रष्टाचार कानूनले छुँदैन भन्ने आम बुझाइ छ जुन गलत हो । सैनिक ऐनले यस्ता भ्रष्टाचारको मुद्दा छिनोफानो गर्ने काम सैनिक अदालतलाई दिएको छ ।
सैनिक बजेटको सदुपयोग भए नभएको एकिन गर्न थापाले निरीक्षण तथा अनुगमन टोली लगायतका केही संयन्त्रहरुको विकास गरेका छन् । “नेपाली सेनाको बजेट आचार संहिता, २०७५” र “बजेट सम्बन्धी आन्तरिक निर्देशिका, २०७५” बनाएर त्यस अुनसारै का मगर्न पनि उनले संगठनको सबै तहमा निर्देशन दिएका छन् । अहिले उनको ध्यान गएको मुख्य विषय मध्ये एक हो, पराना बेरुजु फछ्र्याैट गर्नु र आगामी दिनमा बेरुजु हुन नदिनु । यसलाई उनले अभियानकै रुपमा सुरु गरेर उच्च स्तरीय समिति पनि गठन गरेका छन् जसले काम गरिरहेको छ र नतिजा पनि दिन थालेको छ ।
बजेटलाई पारदर्शी बनाउन नेपाल सरकारले सुरु गरेको लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टमसँग मेल खाने गरी नेपाल आर्मी बजेट इन्मफरमेसन सिस्टम पनि उनले लागू गराएका छन् । उनले बजेटको दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा पनि ल्याउन थालेका छन् । यसले सेनाभित्र व्यपक सुधारको सन्देश फैलाएको छ ।
थापाले बलाधिकृत, युद्धकार्य महानिर्देशक र निरीक्षणाधिकृतको अध्यक्षतामा ३ वटा उच्च स्तरीय आन्तरिक निरीक्षणका लागि सेल गठन गरेर भ्रष्टाचारलाई मेटाउने कामलाई थप तीब्र पारेका छन् । यी सलेहरुको प्रतिवेदनका आधारमा गडबढी देखिएकामाथि छानिबन र कारबाही गर्ने उनले बताइसकेका छन् ।
सेनाभित्र लामोसमयदेखि जेलिएको एउटा समस्या हो, नक्कली शैक्षिक प्रमाणपत्र । यस्ता प्रमाणपत्रका आधारमा र कीर्ते कागजातका भरमा सेनाको उच्च ओहदामा पुगेकाहरु विगतमा धेरै भेटिएका छन् । थापाले यसमा पनि शून्य सहनशिलताको नीति अख्तियार गरेर कारबाी सुरु गरेका छन् । जसअनुसार १८५ जना सैनिक ऐन बमोजिम कारवाहीमा परेका छन् भने ३१ जनालाई अनुशासनबारे सचेत गराईएको सैनिक मुख्यालयले जनाएको छ । यो कदमले सेनाभित्र इमान र नैतिकताको जागरण सुरु भएको छ ।
प्रधानसोपतिको कुल तीन वर्षको कार्यकालको आधा समय व्यतित भएको छ । यस हिसाबले हेर्दा यो उनको मध्यान्तर हो । अक्सर सिने निर्देशकहरु मध्यान्तरअघिसम्म कथावस्तु निर्माण गर्ने, परिदृश्य स्थापना गर्ने र पात्रहरुलाई चिनाउने कसरतमै लागेका हुन्छन् र मध्यान्तरपछि विस्तारै दिन खोजेको सन्देश उच्च मनोवेग र कलात्मक सिल्पका साथ पस्कन्छन् । थापाको तीन वर्षको कार्यकाल पनि सिनेमाको सिल्प शैलीस“ग तुलना गर्ने हो भने मध्यान्तरसम्मको यस अवधीमा उनले आफूले भनेअनुसारको काम गर्ने आधारभूमि बनाएका छन् । अबको बाँकी समयमा त्यसले तीब्र परिणाम दिने अपेक्षा यहाँ स्वभाविक लाग्छ । अक्सर सिनेमाहरु खल नायकको अन्त्य र नायकको जीतमा पुगेर टुंगिन्छन् । भ्रष्टाचार, ढिलासुस्ती, भनसुन, अनियमितता हाम्रा समाजका चीरस्थायी खलनायक हुन् । यस्ता तत्वको गठजोड देशका सबै शक्तीकेन्द्रहरुसम्म हुन्छ, त्यसैले यसलाई परास्त गर्नु सजिलो छैन । तर, सच्चा हृदयले आँट गर्ने हो भने त्यो असम्भव पनि केही छैन ।
खलनायकहरु खाली सिनेममा मात्रै परास्त हुने तर वास्तविक जीवनमा तिनकै रजगज चलिरहने हाम्रो समाजमा यसपटक महारथि पूर्णचन्द्र थापाको मध्यान्तरले केही क्रमभंगताको सुरुवात गर्ने छाँट ल्याएको छ । खलनायकहरु चटपटाएको र नायकको यो कदमले असह्य भई अवाञ्छित प्रतिवाद गर्न थालेको संकेतहरु प्राप्त हुन थालेका छन् । सत र असतबीचको यस संघर्षपूर्ण क्षणमा सम्पूर्ण तीन करोड नेपालीको साथ छ प्रधान सेनापतिलाई । त्यसैले यस विशेष सम्पादकीय मार्फत हामी भन्न चाहन्छौं, जस्तै व्यवधान आएछ भने पनि खुट्टा नकमाउनुस्, अघि बढ्नुस्, खलनायकहरुलाई परास्त गर्नुस् । सुभेच्छा छ चिफसा‘प, अघि बढ्नहोस् !