काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सांसद डा. तोषिमा कार्कीले नेपालमा स्यानिटरी प्याड उत्पादन क्षमताको पूर्ण उपयोग हुन नसकेको बताउँदै नीतिगत सुधार आवश्यक रहेको औंल्याएकी छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले नेपालमा वार्षिक ३० करोड थान स्यानिटरी प्याड उत्पादन भए पनि स्वदेशी उत्पादन क्षमता भने ९० करोड थान रहेको तर, सो क्षमता अनुसार उत्पादन हुन नसकेको बताइन् ।
'नेपालमा विभिन्न मुलुकबाट स्यानिटरी प्याड आयात गरिन्छ। तर, यहाँ उत्पादन क्षमताको केवल एक तिहाइ मात्र उपयोग भइरहेको छ। यसको प्रमुख कारण भनेको आयातीत प्याडको तुलनामा कच्चा पदार्थ आयातमा बढी भन्सार महसुल लगाइनु हो,' उनले भनिन् ।
उनका अनुसार नेपालमा आयातीत स्यानिटरी प्याडमा भन्सार छुट दिइएको भए पनि सो छुट लक्षित उपभोक्ताले उपयोग गर्न पाएका छैनन्,' उले भनिन्, 'भन्सार छुटको लाभ उपभोक्तालाई नभएर बिचौलियाको खल्तीमा पुगेको छ । नियमन अभावका कारण यो स्वार्थप्रेरित निर्णय थियो भन्ने आशंका उब्जिएको छ ।'
सांसद कार्कीले समस्या मात्र होइन, समाधानका उपायहरू पनि प्रस्तुत गरेकी छन् । उनले स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बन्न र बजार प्रतिस्पर्धा गर्न कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क घटाउनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
'यदि कच्चा पदार्थको भन्सार शुल्क घटाइयो भने नेपाली उत्पादन सुलभ, सुपथ र गुणस्तरीय बन्न सक्छ। यसले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नेछ र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ,' उनले भनिन्।
त्यस्तै, सरकारी विद्यालयहरूमा वितरण गरिने निःशुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितताका लागि कडा अनुगमन तथा नियमन आवश्यक रहेको सांसद कार्कीको भनाइ छ। 'सरकारले विद्यालयमा वितरण हुने प्याडको प्रभावकारीता सुनिश्चित गर्दै नियमन प्रणालीलाई सशक्त बनाउनुपर्छ,' उनले सरकारलाई आग्रह गरिन्।